शान्तिपूर्ण मतदानपछि रौतहटमा गणनाको तयारी, आजै रातिदेखि सुरु गरिने
चन्द्रपुर : रौतहटको चार वटै निर्वाचन क्षेत्रमा बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।
निर्धारित समय बिहान ७ देखि सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजे सम्पन्न भएको थियो। कुनै पनि अप्रिय घटना नभई जिल्लाभित्र रहेको ५४१ वटै मतदान केन्द्रमा मतदान सम्पन्न भएको रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए।
सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीको व्यवस्थापनका कारण मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको प्रजिअ भुसालले जानकारी दिए। जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा दलगत तथा स्वतन्त्र गरी कुल १४२ जनाले उम्मेदवारी दिएका थिए।
मतदान सम्पन्न भएसँगै मतदानस्थलबाट मतपत्र भएको बक्स मतगणना भएको स्थलमा ल्याउँदै गरेको र सम्भवतः बिहीबार रातिदेखि नै मतगणनाको तयारी भइरहेको प्रजिअ भुसालले बताए।
जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख छोटेलाल दासका अनुसार क्षेत्र नम्बर १ गौरमा रहेको जुद्ध माध्यमिक विद्यालय, क्षेत्र नम्बर २ को ब्रह्मज्योति मावि लौकाहा, क्षेत्र नम्बर ३ को जनता मावि कटहरिया र ४ को जनज्योति उच्च मावि चन्द्रपुरमा मतगणना हुने भएको छ।
फागुन २१, २०८२ बिहीबार २०:२८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।