उत्तरी गोरखाका मतदान केन्द्रमा मतदाता सम्पन्न, कहीँ शून्य त कहीँ न्यून
गोरखा : उत्तरी गोरखाका अधिकांश मतदान केन्द्रमा मतदान सकिएको छ। हिमाली क्षेत्रका एक सय र एक सयभन्दा कम मतदाता रहेका केन्द्रहरूमा मतदान सकिएको निर्वाचनमा खटिएका कर्मचारीले जानकारी दिएका छन्।
मतदान सकिए पनि नियमानुसार ५ बजेसम्म मतदान केन्द्रमा बस्नुपर्ने प्रावधान अनुसार कुरेर बसेको फिलिम आधारभूत विद्यालय पातीका मतदान अधिकृत विष्णुप्रसाद तिमिल्सिनाले बताए।
“यस मतदान केन्द्रमा रहेका १९८ मतदातामध्ये १२ बजेसम्म १३८ मत खसेको छ, त्यसपछि कोही पनि मतदान गर्न आउनुभएको छैन। नियमानुसार ५ बजेसम्म कुरेर बस्नुपर्ने भएकाले केन्द्रमा नै बसिरहेका छौं,” उनले भने।
उनका अनुसार पार्टीका प्रतिनिधिले भोट हाल्न आउने मतदाता यति नै हुन् भनेका छन्। सिदुङ आधारभूत विद्यालय सर्स्युँमा पनि मतदान सकिएको छ। यहाँ १४५ मतदाता रहेकामा ८६ मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत प्रकाश काफ्लेले जानकारी दिए। उनले पनि ५ बजेसम्म कुर्नुपर्ने नियमानुसार बसिरहेको बताए।
क्वाक आधारभूत विद्यालय मतदान केन्द्रमा कूल एक सय मतदाता रहेकामा ४० मत खसेपछि मतदाता आउन छोडेका मतदान अधिकृत विपिन रेग्मीले जानकारी दिए। एक सय ११ जना मतदाता रहेको छाक आधारभूत विद्यालयमा ५५ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत रमेश ढकालले बताए।
एक सय चार मतदाता रहेको साम्दो आधारभूत विद्यालयस्थित केन्द्रमा बिहान ११ बजेसम्म २४ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत विजय श्रेष्ठले जानकारी दिए। जाडो छल्न काठमाडौंलगायत अन्य जिल्लामा झरेका मतदाता केही बाटोमा आउँदै गरेका जानकारी प्राप्त भएकाले मतदाता सङ्ख्या बढ्न सक्ने उनले बताए।
चुमनुब्री-५ को क्राक आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा रहेका १३७ मतदातामध्ये ८० मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत बलराम श्रेष्ठले उल्लेख गरे। “नियमानुसार मतदान केन्द्रमा कुरेर बसिरहेका छौं,” उनले भने।
त्यस्तै, १३७ मतदाता रहेका वुद्ध हिमाली आधारभूत विद्यालय मतदान केन्द्रमा ९० मत, चुम्लिङ आधारभूत विद्यालय चुम्चेत मतदान केन्द्रमा रहेका १७५ मतदातामध्ये १२ बजेसम्म ६९ मत र १७६ मतदाता रहेका सिद्ध गणेश आधारभूत विद्यालयमा ८४ मत खसेपछि मतदाता आउन छाडेका मतदान अधिकृत सन्दीप मरहट्टाले जानकारी दिए।
“लार्केबजार स्वास्थ्य चौकी मतदान केन्द्र नाम्रुङमा १ पनि कोही मतदाता आएका छैनन्,” मतदान अधिकृत राजेन्द्र खनालले भने। जिल्लाको सबैभन्दा कम ७६ मतदाता रहेकामा हालसम्म २४ जनाले मतदान गरेका उनले जानकारी दिए।
फागुन २१, २०८२ बिहीबार १७:२६:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।