मतदाता भन्छन्- दुःख-पीडा बिर्सेर भोट हाल्यौं, अब सुशासन र विकास चाहियो

मतदाता भन्छन्- दुःख-पीडा बिर्सेर भोट हाल्यौं, अब सुशासन र विकास चाहियो

काठमाडौं : काठमाडौंका मतदाताहरूले आफ्नो मतलाई नियमित निर्वाचनमा सहभागिताको रूपमा मात्र नभई ‘परिवर्तन’ र ‘सुशासन’को बलियो चाहनासँग जोडेका छन्।

बिहीबार बिहानैदेखि प्रतिनिधिसभा सदस्यको चयनका लागि भइरहेको मतदानमा सहभागी मतदाताहरूले देशको अवस्था बदल्न आफ्नो मताधिकार प्रयोग गरिरहेको प्रतिक्रिया दिइरहेका छन्। 

सिंगो देशले परिवर्तन खोजिरहेको अवस्थामा भइरहेको निर्वाचनले परक परिणाम दिने उनीहरूको अपेक्षा छ। यही उद्देश्य बोकेर दैनिक काम छोडेर, शारीरिक अशक्तता र व्यक्तिगत पीडा जस्ता व्यक्तिगत कठिनाइका बीच मतदान केन्द्रमा पुगेको उनीहरूको भनाई छ। 

मातृशोकमा पनि मतदान: कारण ‘नयाँ जोस’

५८ वर्षीय गणेश खत्री ‘बरखी’ बारिरहेको अवस्थामा मतदान गर्न तीनकुनेस्थित भिएस निकेतन मतदान केन्द्रमा आइपुगे। ओखलढुङ्गा घर भई हाल आलोकनगर बस्ने खत्रीलाई मतदान केन्द्रसम्म ल्याउने मुख्य कारण उम्मेदवारहरूमा देखिएको ‘नयाँ जोस’ हो।

निर्वाचनप्रतिको आफ्नो बुझाइ प्रस्ट्याउँदै उनले भने, "पहिलाको जस्तो ‘सस्तो-पाको’ मात्र भएको भए म यो दुःखको बेलामा आउने थिइनँ होला। तर, अहिले नयाँ जोस र जाँगर भएका भाइहरू आउनुभएको छ, त्यसैले भोट हाल्न आएँ।"

उनले आफ्नो मतको उद्देश्य ‘भ्रष्टाचारको अन्त्य’ र ‘भावी पुस्ताका लागि राम्रो वातावरण’ निर्माण गर्नु रहेको बताए। "अब आउनेले पहिलाको जस्तो भ्रष्टाचार गर्नु भएन, राम्रो काम गरेर देखाउनुपर्यो," उनको भनाइ थियो।

८० वर्षे वृद्धको बुझाइ : मत ‘परिवर्तन’ का लागि

यस्तै, काठमाडौं-२ को कौटिल्य स्कुल मतदान केन्द्रमा ह्विलचियरको सहायतामा मतदान गर्न पुगेका ८० वर्षीय रतन लाल ब्यासले आफ्नो मतलाई ‘परिवर्तनको साधन’ भने। पञ्चायतकालको निर्दलीय व्यवस्थादेखि बहुदलसम्म धेरै पटक मतदान गरिसकेका ब्यासले यस पटकको निर्वाचनमा मुलुकका जल्दाबल्दा समस्या समाधानको अपेक्षा राखे।

"यो भोट परिवर्तनको लागि हो," उनले भने, "नेपालमा सबैभन्दा ठूलो समस्या बेरोजगारी भइहाल्यो। सडक र पानीको अवस्था उस्तै छ, मधेसमा बाढीको समस्या छ।"

शारीरिक रूपमा अशक्त भए पनि उनले मतदान केन्द्रको व्यवस्थापन विगतभन्दा राम्रो र छिटो छरितो भएको अनुभव सुनाए। ह्विलचियर प्रयोगकर्तालाई सहज हुने गरी भोट हाल्ने व्यवस्था मिलाइएकोमा उनले सन्तुष्टि व्यक्त गरे। 

‘विकास र सुधार’को लागि मतदान गरेको सुनाउने उनीहरू प्रतिनिधि पात्र मात्र हुन्। मतदान केन्द्रमा पुग्ने अधिकांश मतदाताले आफ्नो मतमार्फत परिवर्तनको चाहना प्रकट गरेका छन्। 

फागुन २१, २०८२ बिहीबार १५:१६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।