१२ बजेसम्म देशभर ३१ लाख मत खस्यो

१२ बजेसम्म देशभर ३१ लाख मत खस्यो

काठमाडौं : प्रतिनिधिसभा सदस्य चयनका लागि देशभर उत्साहजनक रूपमा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा दिउँसो १२ बजेसम्म करिब १८ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले दिएको जानकारी अनुसार मध्यान्ह १२ बजेसम्म देशभरबाट कुल ३१ लाख ६३ हजार ७ सय ३६ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्। यो सङ्ख्या कुल मतदाताको लगभग १८ प्रतिशत हुन आउँछ।

प्रवक्ता भट्टराईले देशका सबै जिल्लाहरूमा मतदाताहरूको उत्साहजनक सहभागिता रहेको र शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया अगाडि बढिरहेको जानकारी दिएका छन्।

बिहानको समयमा चिसो र केही स्थानमा हुस्सु लागेका कारण मतदानको प्रतिशत केही सुस्त देखिए पनि घाम लागेसँगै दिउँसोपख मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति बाक्लो हुँदै गएको छ। मतदान बेलुका ५ बजेसम्म जारी रहने आयोगले जनाएको छ।

फागुन २१, २०८२ बिहीबार १३:०४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।