अमेरिका र इरानबीचको युद्ध : कसको हतियार भण्डार कति बलियो?

अमेरिका र इरानबीचको युद्ध : कसको हतियार भण्डार कति बलियो?

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग हतियारको ‘लगभग असीमित आपूर्ति’ रहेको दाबी गरेका छन्।

उता, इरानको रक्षा मन्त्रालयले पनि आफूसँग ‘दुस्मनको लामो समयसम्म सामना गर्न सक्ने क्षमता’ भएको बताएको छ। तर, हतियारको भण्डार र आपूर्तिले मात्र युद्धको नतिजा तय गर्दैन।

हतियारको प्रयोग र उत्पादनबीचको खाडल
अमेरिका-इजरायल र इरानबीच सुरू भएको यो युद्धमा निकै तीव्र गतिमा आक्रमण भइरहेका छन्। दुवै पक्षले जति छिटो हतियार प्रयोग गरिरहेका छन्, त्यति छिटो उत्पादन गर्न भने सकेका छैनन्।

इजरायलको तेल अवीवस्थित ‘इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडिज’का अनुसार अमेरिका र इजरायलले हालसम्म दुई हजारभन्दा बढी आक्रमण गरिसकेका छन्।

त्यस्तै, इरानले पनि ५७१ वटा मिसाइल र १ हजार ३९१ वटा ड्रोन प्रहार गरेको छ, जसमध्ये धेरैलाई आकाशमै नष्ट गरिएको थियो। यो स्तरको युद्ध लामो समयसम्म जारी राख्न दुवै पक्षलाई कठिन हुने देखिन्छ।

इरानको हतियार क्षमता घट्दै
पश्चिमी देशका अधिकारीहरूका अनुसार इरानले प्रहार गर्ने मिसाइलको सङ्ख्या घटिसकेको छ। युद्धको पहिलो दिन सयौं मिसाइल प्रहार भएकोमा अहिले त्यो दर्जनौंमा झरेको उनीहरूले दाबी गरेका छन्।

अमेरिकी सैन्य अधिकारीहरूका अनुसार पहिलो दिनको तुलनामा इरानको ब्यालेस्टिक मिसाइल प्रहार ८६ प्रतिशत र ड्रोन आक्रमण ७३ प्रतिशतले घटेको छ।

इरानलाई निरन्तर आक्रमण गर्न मुस्किल परेको हुन सक्ने वा हतियार बचाउन जानीजानी आक्रमण कम गरेको हुन सक्ने अनुमान छ। इरानको अधिकांश हवाई सुरक्षा प्रणाली नष्ट भइसकेको छ र अमेरिका-इजरायलले हवाई नियन्त्रण कायम गरिसकेका छन्।

अब अमेरिकाको निसाना इरानका मिसाइल र ड्रोन बनाउने कारखानाहरूमा हुनेछ। यद्यपि, फ्रान्सभन्दा तीन गुणा ठूलो इरानका सबै भूमिगत हतियार नष्ट गर्न भने सजिलो छैन।

अमेरिकाको हतियार अवस्था र रणनीति
अमेरिकासँग विश्वकै सबैभन्दा शक्तिशाली सेना र धेरै हतियार भए पनि ऊ महँगा र सीमित उत्पादन हुने हतियारमा निर्भर छ।

राष्ट्रपति ट्रम्पले हतियार उत्पादन बढाउन रक्षा कम्पनीहरूसँग बैठक बोलाएका छन्, जसले अमेरिकासँग पनि हतियारको दबाब रहेको सङ्केत गर्छ।

अहिले इरानको हवाई सुरक्षा कमजोर भएपछि अमेरिकाले महँगा र टाढाबाट हान्ने ‘टोमाहक क्रुज मिसाइल’को सट्टा सस्तो ‘जेडिएएएम’ बमहरू प्रयोग गर्न थालेको छ।

विज्ञहरूका अनुसार यस्ता सस्तो बम अमेरिकासँग हजारौंको सङ्ख्यामा भएकाले अमेरिकाले हवाई आक्रमण लामो समयसम्म जारी राख्न सक्छ।

अमेरिकी चुनौती : महँगो एयर डिफेन्स प्रणाली
अमेरिकालाई सबैभन्दा ठूलो चुनौती भनेको हवाई सुरक्षा प्रणालीको हो। इरानका मिसाइल रोक्न यस्ता प्रणालीको धेरै प्रयोग भइरहेको छ।

एउटा प्याट्रियट मिसाइलको मूल्य ४० लाख डलरभन्दा बढी पर्छ र अमेरिकाले वर्षमा करिब ७०० वटा मात्र बनाउँछ।

हाल अमेरिकासँग करिब १,६०० प्याट्रियट मिसाइल मात्र रहेको अनुमान छ। यदि ट्रम्पले यो भण्डार रित्याए भने प्रशान्त क्षेत्रमा हुनसक्ने अन्य द्वन्द्वका लागि अमेरिकालाई खतरा बढ्न सक्छ।

फागुन २१, २०८२ बिहीबार ११:४५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।