पेन्टागनले सार्वजनिक गर्‍यो कुवेत आक्रमणमा मारिएका छैटौं अमेरिकी सैनिकको पहिचान

पेन्टागनले सार्वजनिक गर्‍यो कुवेत आक्रमणमा मारिएका छैटौं अमेरिकी सैनिकको पहिचान

एजेन्सी : अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले कुवेतमा भएको आक्रमणमा मारिएका आफ्ना छैटौं सैनिकको सम्भावित पहिचान खुलाएको छ।

पेन्टागनका अनुसार, उक्त आक्रमणमा ज्यान गुमाउने छैटौं सैनिक क्यालिफोर्नियाको स्याक्रामेन्टोका ५४ वर्षीय ‘चिफ वारेन्ट अफिसर-३’ रोबर्ट एम. मार्जान भएको अनुमान गरिएको छ।

पेन्टागनले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मार्जान १ मार्च, २०२६ मा कुवेतको पोर्ट शुआइबास्थित घटनास्थलमा थिए र उनको त्यहीँ मृत्यु भएको अनुमान गरिएको छ। यद्यपि, मेडिकल टोलीले उनको पहिचानको आधिकारिक पुष्टि गर्न भने बाँकी छ।’

पेन्टागनले हालसम्म उनको तस्बिर भने सार्वजनिक गरेको छैन।

यसअघि अमेरिकी सेनाले सोही आक्रमणमा मारिएका पाँचौं सैनिक आयोवाका मेजर जेफ्री ओब्रायन भएको जानकारी दिएको थियो।

गत आइतबार कुवेतको पोर्ट शुआइबास्थित अमेरिकी कमान्ड सेन्टरमा एउटा मानवरहित विमान (ड्रोन) ले हवाई सुरक्षा प्रणाली (एयर डिफेन्स) लाई छलेर आक्रमण गरेको थियो। उक्त आक्रमणमा परी ६ जना अमेरिकी सैनिकको मृत्यु भएको हो।

अमेरिकी सेन्ट्रल कमान्डले सुरुमा यस आक्रमणमा तीन जना सैनिक मात्र मारिएको बताएको थियो। तर, पछि अधिकारीहरूले मृतकको सङ्ख्या ६ पुगेको पुष्टि गरेका थिए।

फागुन २१, २०८२ बिहीबार १०:२४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।