युद्धसम्बन्धी ट्रम्पको अधिकार कटौती गर्ने विधेयक अमेरिकी सिनेटबाट फेल

युद्धसम्बन्धी ट्रम्पको अधिकार कटौती गर्ने विधेयक अमेरिकी सिनेटबाट फेल

एजेन्सी : अमेरिकी सिनेट (संसदको माथिल्लो सदन)मा राष्ट्रपति ट्रम्पको युद्धसम्बन्धी अधिकारलाई सीमित गर्न ल्याइएको एउटा विधेयक (बिल) पास हुन सकेन।

यस विधेयकको पक्षमा ४७ जना सिनेटरले भोट हालेका थिए भने विपक्षमा ५३ भोट खसेको थियो। आवश्यक भोट नपुगेका कारण ट्रम्पको अधिकार कटौती गर्न ल्याइएको यो प्रस्ताव असफल भएको हो।

यदि यो विधेयक पास भएको भए, युद्धसम्बन्धी कुनै पनि आदेश दिनुअघि राष्ट्रपति ट्रम्पले अनिवार्य रूपमा अमेरिकी कंग्रेस (संसद) को स्वीकृति लिनुपर्ने हुन्थ्यो। यसले गर्दा युद्धको घोषणा गर्ने अमेरिकी राष्ट्रपतिको शक्ति कम हुने थियो।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि हमला गरेका थिए। त्यसको बदलामा इरानले पनि अमेरिकी सैन्य अखडाहरू, इजरायल र अन्य स्थानमा आक्रमण गरेको थियो।

यसरी तनाव बढिरहेको बेला राष्ट्रपतिले आफूखुसी युद्धको निर्णय गर्न नपाऊन् भनेर यो विधेयक ल्याइएको थियो।

इरानसँगको यो पछिल्लो द्वन्द्वपछि अमेरिकी सिनेटमा ल्याइएको यस प्रकारको यो पहिलो विधेयक थियो। तर, आवश्यक बहुमत नजुटेपछि ट्रम्पलाई रोक्ने सिनेटको यो प्रयास असफल भएको छ।

फागुन २१, २०८२ बिहीबार ०९:०१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।