निर्वाचन सुरक्षामा सेनामाथि शंका, निर्वाचन आयुक्त भन्छन् “ सेना मतदान केन्द्र बाहिरै खटिन्छ, मतपेटिका कुनै हालतमा बदलिँदैन”
काठमाडौं : भदौ २३ र २४ को जेनजी आन्दोलनमा गरेको सुरक्षा चुकसँगै निर्वाचनलाई निष्पक्ष गराउने पक्षमा नेपाली सेनाको भूमिकामाथि प्रश्न उठेपछि निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सुरक्षामा सेनाको भूमिका नबदलिएको प्रस्टीकरण दिए।
यस अगाडिको निर्वाचनको सुरक्षामा खटिने प्रहरीमाथि शङ्काहरू उठ्ने गरेका थिए। तर यस पटकको निर्वाचनमा निर्वाचन निष्पक्ष बनाउने विषयमा सेना शंकामा परेको छ। यसको प्रमुख कारण जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते देखिएको सेनाको विवादित भूमिका मुख्य देखिन्छ।
फागुन २१ मा हुने मतदानको अन्तिम तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले हिजोका निर्वाचनको सुरक्षाको रणनीति जस्तो हो यस पटकको पनि त्यस्तै रहेको बताउँदै भने “निर्वाचनमा सेना तेस्रो घेरामै रहन्छ।”
यस अगाडिको निर्वाचनमा मतदान केन्द्रभित्र नेपाल प्रहरी र आवश्यकता अनुसार निर्वाचन प्रहरी खटिन्छन्। त्यसभन्दा बाहिरको घेरामा सशस्त्र प्रहरी खटिने गरेका छन् भने त्यसपछिको गस्ती तथा पेट्रोलिङसहितको सुरक्षामा सेना खटिने गरेका थिए।
भण्डारीले फागुन २१ को निर्वाचनको सुरक्षामा पनि पुरानै रणनीति अपनाइएको र मतदान केन्द्रभित्र नेपाली सेना नखटिने बताए। मत पेटिका ढुवानी सेनाले गर्ने सार्वजनिक भएसँगै कतै साटिने त हैन भन्ने आशङ्काहरू पनि बढेका छन्।
त्यसबारे समेत भण्डारीले प्रस्टीकरण दिए। उनले पत्रकार सम्मेलनमा प्रतिनिधिसभाको निर्वाचनमा मतपेटिका ढुवानी गर्दा परिवर्तन गर्न सक्ने अवस्था नरहेको दाबी गरे। मतदान भइसकेपछि ढुवानी गर्ने बेला कुनै पनि हालतमा मतपेटिका परिवर्तन नहुने उनले दोहोर्याए।
“धेरैले सेनाको हेलिकप्टरबाट ढुवानी गर्दा मतपेटिका परिवर्तन हुन्छ कि भनेर सोधेका छन्। मतपेटिका कुनै पनि हालतमा परिवर्तन हुँदैन” उनले भने। आयोगले विभिन्न १५ जिल्लाका ६१ मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट संकलन गर्ने जनाएको छ ।
मतपेटिकामा आयोगकोतर्फबाट लाग्ने लाहाछापसँगै सम्बन्धित उम्मेदवारको समेत सुरक्षा सिल हुने भएकाले कसैले चाहेर मतपेटिका परिवर्तन गर्न नसकिने उनको दाबी थियो। उनले पत्रकार सम्मेलनमा यसमा ढुक्क हुन बारम्बार अनुरोध गरेका थिए।
२४ घण्टाभित्र मत परिणाम सार्वजनिक
उनले निर्वाचनको सबै तयारी भइसकेको र मतदानको समय सकिएपछि मतगणना सुरु भएको २४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने दाबी समेत गरे। भण्डारीले मतदान सकिए लगत्तै मतपेटिका संकलन गरिने र गणना सुरु गरिने बताए।
“मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौँ। साथसाथै समानुपातिकको पनि छिटै सार्वजनिक गर्छौँ” उनले भने।
फागुन २०, २०८२ बुधबार १६:४९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।