निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त भण्डारीको आह्वान

निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त भण्डारीको आह्वान

काठमाडाैं : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन्।

आयोगमा पत्रकार सम्मेलन गरेर आयुक्त भण्डारीले निर्वाचनको सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै उनले आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका हुन्।

गत भदौ २३ र २४ गते भएको नवयुवाहरूको विद्रोहपछि विकसित विषम परिस्थितिका बीच हुन लागेको यस आकस्मिक प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ ले नेपालको संविधान र संघीय लोकतान्त्रिक व्यवस्थालाई थप सुदृढ र परिपक्व बनाउने उनले विश्वास व्यक्त गरे।

उनले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आयोग पूर्ण रूपमा तयार रहेको समेत बताए। 

आयुक्त भण्डारीले निर्वाचनलाई कुनै पनि अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिने दृढता व्यक्त गर्दै आस्था, विचार, सिद्धान्त र निष्ठाबाट निर्देशित वातावरण सुनिश्चित गरिने बताए।

उनले मतदाताको सहभागितालाई राजनीतिक सचेतना, सामाजिक जिम्मेवारी र नागरिक संलग्नताको उच्चतम अभिव्यक्ति भन्दै सुसूचित मतदानले शासनप्रतिको नागरिक अपनत्व अझ बलियो बनाउने उल्लेख गरे।

“निर्वाचनमा मतदाता र मतदान सर्वाधिक महत्वपूर्ण हुन्छ,” उनले भने, “फागुन २१ गते बिहीबार आ–आफ्ना मतदान केन्द्रमा उपस्थित भइ निर्धक्क भएर मतदान गर्नुहुन म सम्पूर्ण मतदातालाई हार्दिक अनुरोध गर्दछु।”

फागुन २०, २०८२ बुधबार १५:१५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।