मतपेटिका सेनाले होइन, मतदान अधिकृतले नै लैजान्छन् : गृहमन्त्री

मतपेटिका सेनाले होइन, मतदान अधिकृतले नै लैजान्छन् : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपछि मतपेटिका नेपाली सेनाले लैजाने भन्ने हल्ला गलत भएको बताएका छन्।

उनले एकीकृत सुरक्षा योजनाअनुसार मतदान सम्पन्न भएपछि मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतदान अधिकृतमार्फत नै ल्याइने स्पष्ट पारे।

उनले भने, "मतदानपछिको मतपेटिका नेपाली सेनाले लिने भन्ने जुन भाष्य सिर्जना भएको छ यस्तो होइन। एकीकृत सुरक्षा योजनामै स्पष्ट लेखिएको छ, मतदान भइसकेपछि मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइने छ। त्यतिखेर पनि मतदान अधिकृतले ल्याउने हो, सेनाले होइन।"

यद्यपि मतपेटिका ढुवानीका क्रममा असुरक्षा महसुस भएमा नेपाली सेनाको सवारी साधनले सुरक्षा स्कर्टिङ गर्न सक्ने उनले जानकारी दिए ।

गृहमन्त्री अर्यालले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको उल्लेख गर्दै देशभरका मतदान स्थलमा सुरक्षा संयन्त्र परिचालन भइसकेको बताए। निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।

उनले भने, "प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुरक्षा सम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरु परिचालित छन्। सबै सुरक्षा संयन्त्रहरु मतदान स्थलसम्म पुगेका छन्। जतिखेर जे आवश्यक पर्छ परिआएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्नेगरी देशभरी नै पूर्ण रुपमा नै अहिले सुरक्षाको प्रत्याभूति दिएको अवस्था छ।"

भोलि अर्थात् फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। 

फागुन २०, २०८२ बुधबार ११:३९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।