बागलुङमा ‘भाडा ८ हजार, गाडीले माग्छ १६ हजार... नभागेर मतपेटिका च्यापेर बस्नु?’ भन्ने मतदान अधिकृत बर्खास्त
बागलुङ : आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका एक मतदान अधिकृतलाई ह्वाट्सएप ग्रुपमा अस्वाभाविक म्यासेज पठाएपछि जिम्मेवारीबाट हटाइएको छ।
बागलुङ क्षेत्र नम्बर २ अन्तर्गत गल्कोटस्थित श्री रमुवा आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका मतदान अधिकृत प्रकाश गैरेलाई निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेको हो।
मतदान सामग्रीसहित कार्यक्षेत्रमा पुगिसकेका गैरेले बागलुङ जिल्लाका निर्वाचन क्षेत्र नं १ र २ का मतदान अधिकृतहरू जोडिएको आधिकारिक ह्वाट्सएप ग्रुपमा गाडी भाडा नपुगेको भन्दै मतपेटिका नै छोडेर भाग्ने आशयको सन्देश लेखेका थिए।
फागुन १९ गते दिउँसो ४:१३ बजे गैरेले उक्त ग्रुपमा लेखेका थिए, ‘तपाईंले मत ढुवानी खर्च ८०००।- दिनुहुन्छ अनि गाडीले १६०००।- लिन्छ अनि नभागेर च्यापेर बस्नु ????’
उनको यही म्यासेजपछि निर्वाचन अधिकृतको कार्यालयले एक्सन लिएको हो। निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा गैरेको उक्त म्यासेजले जिल्लाभर खटिएका अन्य मतदान अधिकृतहरूको समेत मनोबल गिराउने कार्य गरेको उल्लेख छ।
गैरेले जिम्मेवारी बहन गर्न नसक्ने देखिएको र यस्ता गैरजिम्मेवार अभिव्यक्तिले निर्वाचनको काममा हेलचेक्र्याइँ हुने कार्यालयको ठहर छ।
‘निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता एवं विश्वसनीयतामा प्रतिकूल आँच आउन सक्ने देखिएकोले यस निर्वाचन अधिकृतको कार्यालय तपाईंप्रति आश्वस्त हुन सकेन’, पत्रमा भनिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका, २०८२ को दफा २० बमोजिम उनलाई तत्कालै रमुवा आ.वि. मतदान केन्द्रको जिम्मेवारीबाट हटाइएको छ।
बर्खास्तमा परेका गैरेलाई आफूलाई जिम्मा लगाइएको मतपत्र लगायतका सम्पूर्ण मतदान सामग्रीहरू सुरक्षा निकायलाई चुस्त दुरुस्त रूपमा बुझाउन र यथाशीघ्र निर्वाचन अधिकृतको कार्यालय (बुर्तिबाङ) मा सम्पर्क राख्न कडा निर्देशन दिइएको छ।

फागुन २०, २०८२ बुधबार १०:४९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।