चुनावको मुखैमा मधेशमा दुई उम्मेदवार पक्राउ
काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा मधेश प्रदेशका दुई फरक जिल्लाबाट दुई जना उम्मेदवार पक्राउ परेका छन्।
मौन अवधिको समयमा सुरक्षा जाँचलाई कडा पारिएसँगै पर्सा र सिरहाबाट फरक-फरक पार्टीका उम्मेदवारहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
फागुन २० गते वीरगञ्जमा नियमित सुरक्षा जाँचका क्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार, बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर जाँच गर्दा गाडीमा केही शंकास्पद वस्तु फेला परेपछि चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले उक्त क्षेत्रलाई घेराबन्दी गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र छिट्टै पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराइने पर्सा प्रहरीले जनाएको छ।
यता, सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादवलाई प्रहरीले नगद र मतपत्रसहित पक्राउ गरेको छ। सिरहा क्षेत्र नं. ३ का उम्मेदवार यादवलाई मध्यराति करिब १२:३० बजे शिवचोकबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार, नेपाल-भारत सीमास्थित माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र. २-०२-००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई संयुक्त सुरक्षा टोलीले चेकजाँच गरेको थियो।
जाँचका क्रममा गाडीभित्रबाट ४ लाख ८७ हजार रुपैयाँ नगद र मतपत्र फेला परेपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहा स्रोतले जनाएको छ।
हाल पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीहरूलाई आवश्यक छानबिन र थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
निर्वाचनको मौन अवधि सुरू भइसकेको अवस्थामा उम्मेदवारहरू नै शंकास्पद गतिविधिमा संलग्न भएको पाइएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
फागुन २०, २०८२ बुधबार ०८:४४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।