इरानमा सैन्य कार्वाही एक महिना चल्न सक्ने ट्रम्पको घोषणा, इरान-अमेरिका युद्धले बढ्यो ऊर्जा संकट

इरानमा सैन्य कार्वाही एक महिना चल्न सक्ने ट्रम्पको घोषणा, इरान-अमेरिका युद्धले बढ्यो ऊर्जा संकट

एजेन्सी : अमेरिकी र इजरायली सेनाले इरानमाथि गरेको सैन्य कारबाहीको प्रभावले इरानको आक्रमणपछि विश्व बजारमा तेल र ग्यासको मूल्य ह्वात्तै बढेको बेलामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको अभियान एक महिना चल्न सक्ने बताएका छन्।

सैन्य आक्रमणको प्रभावले विश्वका विभिन्न देशमा ऊर्जा संकट सुरु भइसकेको छ। यस्तो अवस्थामा सैन्य कारबाही थप लम्बिएमा संकट थप बढ्ने जोखिम देखिन्छ। ह्वाइट हाउसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको भेटका क्रममा ट्रम्पले इरान विरुद्धको अभियान करिब चार हप्ता चल्न सक्ने बताएका छन्। उनले इरानको जलसेना, वायुसेना र प्रतिरक्षा प्रणालीलाई ध्वस्त पारिएको दाबी समेत गरे।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार शनिवारदेखि हालसम्म इरानका १ हजार ७ सय भन्दा बढी स्थानमा आक्रमण गरिएको छ। जसमा पनडुब्बी, मिसाइल केन्द्र र कमान्ड सेन्टरहरू रहेका छन्।

ट्रम्पले युद्धपछि इरानमा पूर्व राजाका छोरा रेजा पहलभी भन्दा पनि इरानभित्रबाट कुनै नयाँ नेतृत्व आउनु उपयुक्त हुने बताएका छन्। तर भावी नेतृत्वको दृश्य अझै स्पष्ट भइसकेको छैन।

संयुक्त सैन्य कारबाहीमा इरानी सरकारी सञ्चारमाध्यममाथि समेत आक्रमण भएको छ भने युद्धमा हालसम्म ७ सय ८७ जनाको मृत्यु भइसकेको छ।

ऊर्जा संकट र विश्व बजारमा असर

इरानले जवाफी कारबाही स्वरूप खाडी क्षेत्रका ऊर्जा पूर्वाधारहरूमा आक्रमण गरिरहेको छ। यसले विश्व बजारमा तेल र ग्यासको मूल्य ह्वात्तै बढेको छ। इरानको रिभोलुसनरी गार्डले विश्वको २० प्रतिशत तेल आपूर्ति हुने होर्मुज जल सन्धि पूर्ण रूपमा बन्द गरिएको घोषणा गरेको छ। उसले त्यहाँबाट गुज्रने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी दिइएको छ।

इरानको आक्रमणबाट आफ्ना दुईवटा प्लान्टमा क्षति पुगेपछि कतारको सरकारी पेट्रोलियम कम्पनीले एलएनजी उत्पादन स्थगित गरेको छ। यद्यपि, कतारले आफू इरान विरुद्धको सैन्य अभियानमा सहभागी नभएको स्पष्ट पारेको छ।

उता इजरायली सेनाले लेबनानको दक्षिणी क्षेत्रमा नयाँ स्थलगत आक्रमण समेत सुरु गरेको छ। इरानले इजरायलका तेल अभिभ, पश्चिम जेरुसेलम र एलात जस्ता शहरहरूमा मिसाइल प्रहार जारी राखेको छ। शनिबारयता आक्रमणबाट इजरायलमा कम्तीमा १० जनाको मृत्यु भएको छ।

साउदी अरब र बेलायतको भूमिका

साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा इरानको दुईवटा ड्रोन ठोक्किएका छन्। आक्रमणबाट सामान्य क्षति भएको दाबी गरिएको छ। इरानको आक्रमण थामिने संकेत नदेखिएपछि बेलायती प्रधानमन्त्री कीर स्टार्मरले साइप्रसको सुरक्षा र ड्रोन विरोधी कारबाहीका लागि युद्धपोत र हेलिकप्टरहरू त्यस क्षेत्रमा पठाउने घोषणा गरेका छन्।

फागुन १९, २०८२ मंगलबार २३:२३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।