धनगढीमा दुई समूहबीच झडप : प्रहरीद्वारा हवाई फायर, दुई प्रहरी घाइते

धनगढीमा दुई समूहबीच झडप : प्रहरीद्वारा हवाई फायर, दुई प्रहरी घाइते

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका- १३ मा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ। विवादले उग्र रूप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ।

झडप नियन्त्रण लिनेक्रममा इन्सपेक्टर बलराम पाण्डे र असई डबल साउद घाइते भएका छन्। असई साउदको टाउकोमा चोट लागेको छ। घाइते दुवैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाका क्रममा प्रहरीको एउटा गाडीमा समेत क्षति पुगेको छ।

होली खेलेर बसेका समूहले मदिरा सेवन गरिरहेको अवस्थामा झडप भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार, घटनामा संलग्न रहेको आरोपमा १२ जनालाई नियन्त्रणमा लिइएको छ।

झडप लगत्तै घटनास्थलमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको थियो। अहिले घटनास्थलको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फागुन १९, २०८२ मंगलबार २२:११:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।