‘दाउरा थकाली’मा लागेको आगो नियन्त्रणमा
काठमाडौं : ललितपुरको पुल्चोकस्थित एक व्यावसायिक भवनको सातौं तलामा सञ्चालित ‘दाउरा थकाली भान्साघर’मा मंगलबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ।
दिउँसो करिब ४ बजेतिर विद्युत सर्ट भएर सुरु भएको आगलागी दमकलको प्रयोग र सुरक्षा निकायसहितको प्रयासपछि करिब एक घण्टामा नियन्त्रणमा आएको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार भवनको सातौं तलामा रहेको रेस्टुरेन्टलाई परम्परागत शैली दिन छतमा राखिएको छ्वाली र दाउराका कारण आगो छिटो फैलिएको थियो। आगो नियन्त्रणका लागि ललितपुर र काठमाडौं महानगरपालिकाका दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालन गरिएको थियो।
उक्त आगलागीबाट मानवीय क्षति नभए पनि रेस्टुरेन्टको भौतिक संरचनामा भने ठूलो क्षति पुगेको छ। आगो नियन्त्रणमा आएसँगै प्रहरीले क्षतिको विस्तृत विवरण संकलन गर्ने र घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
फागुन १९, २०८२ मंगलबार १७:४०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।