जेनजी आन्दोलनमा आपराधिक काम गरेको अभियोगमा फागुनमा १८ मुद्दा दर्ता, प्रतिवादीमा टिकटकरदेखि आइटी इन्जिनियरसम्म
काठमाडौं : फागुन २१ को निर्वाचन नजिकिएसँगै भदौ २३ र २४ गतेको आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेकाहरू विरुद्ध मुद्दा दर्ताको संख्या समेत बढेको छ। फागुन महिनाभर काठमाडौंमा मात्र १८ वटा घटनामा ४० भन्दा बढीमाथि मुद्दा दायर भएको छ। यसरी मुद्दा दायर हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतादेखि टिकटकरसम्म छन्।
फागुन १८ सम्म दर्ता भएका १८ मुद्दामा कान्तिपुर टेलिभिजन जलाउनेदेखि सिंहदरबार जलाउने, प्रहरी कार्यालयको हतियार लुट्ने र व्यक्तिको घरभित्र प्रवेश गरेर गहना लगायतका सामग्री लुट्ने अभियुक्तहरू समेत छन्। केही फरार छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो।
जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले दर्ता गरेको अभियोग पत्रको विवरण अनुसार जेभिएर इन्टरनेशनलमा चोरी र तोडफोड गरेको अभियोगमा नजिकै होस्टल चलाएर बस्ने राधेकृष्ण यादव विरुद्ध मुद्दा दायर भएको छ। उनी लुटपाटमा संलग्न रहेको अभियोग पत्रमा उल्लेख छ।
यसैगरि कागेश्वरी मनोहरामा रहेको व्यक्तिको घर तोडफोड गरेको अभियोगमा बुद्धिबहादुर नगरकोटी, उत्सव रानाभाट, हरिकृष्ण नगरकोटी, विकास नगरकोटी र बालकृष्ण यादव विरुद्ध मुद्दा दायर भएको छ। उनीहरू भदौ २४ गते व्यक्तिको घरभित्र गएर तोडफोड गर्दै गहना लगाएका सामग्रीहरू लुटेको अभियोग पत्रमा उल्लेख छ।
सिंहदरबार तोडफोड र आगजनीको आरोपमा सोमप्रसाद खनाल विरुद्ध मुद्दा दायर भएको छ। यसैगरी महाराजगन्ज प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हतियार लुटेको अभियोगमा नुवाकोटका सुरेश रोक्का र सिन्धुलीका देवराज स्याङबा विरुद्ध मुद्दा भएको छ।
प्रहरी प्रभाग साँखुमा तोडफोड,आगजनी र लुटपाटको अभियोगमा मनोज भुजेलसहित १८ जना विरुद्ध मुद्दा दायर भएको छ। तारागाउँ म्युजियम तोडफोडमा संलग्न रञ्जित खड्गीसहित ६ जना र बौद्ध प्रहरी कार्यालय आगजनी र तोडफोडमा संलग्न रहेको अभियोगमा समीर श्रेष्ठ विरुद्ध मुद्दा दायर भएको छ।
टिकटकर ममता प्रसाईँ र मिलन मगर चन्द्रागिरिको दीपककुमार कार्कीको घरमा छिरेर तोडफोड र लुटपाट गरेको र १५ तोला सुन र ३ सय तोला चाँदीसहित भान्साका सामग्रीहरू चोरेको अभियोगमा प्रतिवादी बनेका छन्।
थानकोट प्रहरीमा तोडफोड र आगजनी गरेकोमा विराट गुरुङ, चन्द्रागिरि हिल्सको केबलकारको बेस स्टेसनमा भएको तोडफोडमा संलग्न अनिल रम्तेल र सुनिल रम्तेल विरुद्ध मुद्दा दायर भएको छ। अनिल आइटी क्षेत्रमा काम गर्ने व्यक्ति हुन्।
प्रहरी प्रभाग सुन्दरी जल तोडफोड गर्ने आशिष तामाङ, प्रहरी वृत्त सिंहदरबार तोडफोड गर्ने सुरेश तामाङ, सिंहदरबार जलाउने चितवनका महेन्द्र गौतम, गोकर्णको प्रहरी कार्यालय तोडफोड गर्ने विष्णु कुमाल, कान्तिपुर टेलिभिजनको भवन आगजनी र तोडफोडमा नवीन कार्की र अर्का एक रास्वपाका नेता र बलम्बु प्रहरी कार्यालय तोडफोड र आगजनी गरेको अभियोगमा विवेक रोक्का मगरसहित पाँच जनाविरुद्ध आपराधिक उपद्रवमा मुद्दा दायर भएको छ।
जेनजी आन्दोलनबारे उकेरामा प्रकाशित मुख्य सामग्रीहरू:
फागुन १९, २०८२ मंगलबार १७:३१:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।