मध्यपूर्वमा तनाव बढ्दा तेल र ग्यासको मूल्यमा उच्च वृद्धि, कतारले राेक्याे ग्यास उत्पादन

मध्यपूर्वमा तनाव बढ्दा तेल र ग्यासको मूल्यमा उच्च वृद्धि, कतारले राेक्याे ग्यास उत्पादन

एजेन्सी : इजरायल-इरान युद्धको प्रभाव मध्यपूर्वको ऊर्जा पूर्वाधारमा परेसँगै अन्तर्राष्ट्रिय बजारमा तेल र प्राकृतिक ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ।

इरानले विभिन्न क्षेत्रमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण तीव्र पारेपछि कतार र साउदी अरेबियाजस्ता प्रमुख ऊर्जा उत्पादक राष्ट्रहरूले आफ्ना प्लान्टहरू अस्थायी रूपमा बन्द गरेका छन्।

विश्वको प्रमुख ग्यास निर्यातक मध्येको एक कतार इनर्जीले आफ्ना ऊर्जा संरचनामाथि सैन्य आक्रमण भएपछि तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) उत्पादन अस्थायी रूपमा स्थगित गरेको जनाएको छ। कतारको रास लाफान औद्योगिक क्षेत्र र मेसाइडमा रहेका सुविधाहरूलाई लक्षित गरी इरानी ड्रोनहरूले आक्रमण गरेपछि सुरक्षाका कारण उत्पादन रोकिएको जनाइएको छ।

आपूर्तिमा अवरोध आउने आशङ्काले सोमबार युरोपेली ग्यास बजारमा ठूलो उतारचढाव देखिएको छ। युरोपको मानक ग्यासको मूल्य एकै दिन ५० प्रतिशतसम्म बढेको थियो भने बजार बन्द हुँदा ३९ प्रतिशतको वृद्धि कायम रह्यो।

त्यसैगरी, साउदी अरेबियाको तटीय क्षेत्रमा रहेको प्रमुख तेल प्रशोधन केन्द्र रास तनुरामा पनि ड्रोन आक्रमण भएपछि त्यहाँको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। यसले विश्वभरको तेल आपूर्ति शृङ्खलालाई थप दबाबमा पारेको छ।

विश्वको कुल तेल र ग्यास ढुवानीको करिब २० प्रतिशत हिस्सा ओगट्ने रणनीतिक मार्ग 'हर्मुज जलडमरूमध्य' इरानको धम्कीका कारण प्रभावित भएको छ। इरानले उक्त मार्गबाट जहाजहरू नजान चेतावनी दिएको छ र केही जहाजहरूमा आक्रमण समेत भएको छ। यो मार्ग पूर्ण रूपमा बन्द भएमा विश्व बजारमा ऊर्जा सङ्कट अझै गहिरिने प्रक्षेपण गरिएको छ।

इरान युद्धका कारण खाडी क्षेत्रमा ग्यासको आपूर्ति कटौती हुने डरले ग्यासको मूल्य २० प्रतिशतभन्दा बढीले बढेको थियो ।
 

फागुन १९, २०८२ मंगलबार १६:२९:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।