सिंहदरबार जलाउन संलग्न रहेको दाबी गरिएका अभियुक्त महेन्द्र विरुद्ध मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजायको माग
काठमाडौं : जेनजी आन्दोलनकोक्रममा सिंहदरबारभित्र प्रवेश गरेर आगो लगाएको अभियोगमा पक्राउ परेका महेन्द्र गौतम विरुद्ध आपराधिक उपद्रवको अभियोगमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौंमा उनी विरुद्ध आपराधिक उपद्रवको कसुरमा अभियोग पत्र दर्ता गराएको हो।
अभियोग पत्रमा गौतमसहितका व्यक्तिहरू सिंहदरबार परिसरमा प्रवेश गरेर त्यहाँ रहेका मन्त्रालय लगायतकाहरुमा तोडफोड र आगजनीमा संलग्न रहेको दाबी गरिएको छ। उनीमाथि ५ वर्षदेखि १२ वर्षसम्मको कैद सजाय र बिगो असुल्न माग गरिएको थियो।
जेनजी आन्दोलनकोक्रममा सिंहदरबार जलाएको भनेर दिइएको अन्तर्वार्ताको आधारमा खोजीमा रहेको प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाए पनि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले भिडियोबाहेक अन्य प्रमाण नभएको भन्दै उनी विरुद्ध मुद्दा नचल्ने निर्णय गरेको थियो। तर उच्च सरकारी वकिलको कार्यालयले मुद्दा चल्ने निर्णय गरेपछि अभियोग पत्र दर्ता भएको हो।
अनामनगरमा बस्ने गौतम भने हाजिर जमानीमा रिहा भएकाले उनलाई फरार उल्लेख गरेर अभियोग पत्र दर्ता भएको छ। अभियोग पत्र अनुसार गौतम अनामनगरमा केटिएम एयर कन्डिसन प्रालि सञ्चालन गर्दै आएका थिए। उनले बयानमा सिंहदरबारमा आगो लागेको धुवाँ देखिएपछि आफूसहितकाहरु के भयो भनेर हेर्न गएको र मिडियाले सोधेपछि सिंहदरबारभित्र प्रवेश गरेर सबैतिर आगो लगाइसकेको बताए पनि आफू आगलागीमा संलग्न नभएको दाबी गरेका छन्।
फागुन १९, २०८२ मंगलबार १५:०५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।