टी-२० विश्वकप २०२६ को डिजिटल भ्युअर्ससिपमा नयाँ कीर्तिमान

टी-२० विश्वकप २०२६ को डिजिटल भ्युअर्ससिपमा नयाँ कीर्तिमान

एजेन्सी : भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी-२० विश्वकप २०२६ ले डिजिटल प्लेटफर्ममा ‘इन्गेजमेन्ट’को नयाँ कीर्तिमान कायम गरेको छ।

आईसीसीका अनुसार प्रतियोगिताले आईसीसी टिभी र सामाजिक सञ्जालहरूमा डिजिटल भ्युअर्ससिपका पुराना सबै रेकर्ड तोडेको छ। २० टोलीबाट सुरू भएको विश्वकप अब अन्तिम चारमा पुगेको छ। भारत, इङ्गल्याण्ड, दक्षिण अफ्रिका र न्युजिल्याण्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन्।

आइतबार भारतले पूर्व च्याम्पियन वेस्ट इन्डिजलाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको खेलले आईसीसीको स्ट्रिमिङ सेवामा नयाँ रेकर्ड बनाएको छ। उक्त खेल डिजिटल प्लेटफर्ममा एकैपटक धेरै दर्शकले हेरेको (कन्करेन्ट स्ट्रिमिङ) खेल बनेको छ, जसले २०२४ को विश्वकप फाइनलको रेकर्डसमेत तोडेको छ।

नकआउट चरणका खेलहरू बाँकी हुँदै गर्दा पनि आईसीसी टिभीमा कुल प्रयोगकर्ता र हेरिएको कुल मिनेट २०२४ को सिङ्गो विश्वकपको तथ्याङ्कभन्दा बढी भइसकेको छ। २०२४ को यही चरणको तुलनामा यसपटक युनिक प्रयोगकर्ताको संख्या २८ प्रतिशतले र हेरिएको समय ५६ प्रतिशतले बढेको छ।

आईसीसीका सामाजिक सञ्जालमा भिडियो भ्यूज १० अर्ब नाघिसकेको छ भने यो संख्या १६ अर्ब नाघ्ने अनुमान गरिएको छ। दर्शकहरूको औसत हेर्ने समय (एभरेज वाच टाइम) पनि बढेर ५८ मिनेट पुगेको छ, जुन २०२४ मा ४७ मिनेट थियो।

यसपटक विभिन्न स्थानीय भाषाहरूमा खेल प्रसारण हुँदा दर्शकको सहभागिता ह्वात्तै बढेको छ। शीर्ष ५ स्ट्रिममध्ये ३ वटा गैर-अंग्रेजी भाषाका थिए। यसमा हिन्दी, उर्दू, नेपाली, जापानी र भाषा इन्डोनेसियाली समावेश छन्। आफ्नै भाषामा खेल हेर्न पाउँदा विश्वभरका विविध समुदाय क्रिकेटसँग जोडिएका छन्।

परम्परागत रूपमा क्रिकेट नखेलिने देशहरूमा पनि यसपटक दर्शकको संख्यामा भारी वृद्धि देखिएको छ। जर्मनीमा प्रयोगकर्ताको संख्या १५० प्रतिशतले बढेको छ भने इटालीमा १३६ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, जापान र दक्षिण कोरियामा पनि भ्यूज र प्रयोगकर्ता दुवैमा १०० प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

यी कीर्तिमानी तथ्याङ्कहरूले क्रिकेटलाई विश्वव्यापी र सबैको पहुँचयोग्य बनाउने आईसीसीको लक्ष्यमा ठूलो सफलता मिलेको पुष्टि गरेको छ।

फागुन १९, २०८२ मंगलबार १३:४९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।