अमेरिका-इजरायल र इरान युद्धको चौथो दिन : तेहरानमा भीषण हवाई आक्रमण, रियादको अमेरिकी दूतावासमा ड्रोन हमला

अमेरिका-इजरायल र इरान युद्धको चौथो दिन : तेहरानमा भीषण हवाई आक्रमण, रियादको अमेरिकी दूतावासमा ड्रोन हमला

एजेन्सी : अमेरिका र इजरायलले इरानमाथि सुरु गरेको युद्ध चौथो दिनमा प्रवेश गर्दा मध्यपूर्वमा तनाव थप चुलिएको छ।

इजरायलले इरान र लेबनानमा व्यापक हवाई आक्रमण गरेको छ भने खाडी मुलुकमा रहेका अमेरिकी अखडाहरूमाथि पनि निरन्तर हमला भइरहेका छन्।

युद्धको चौथो दिनमा इजरायलले इरानको राजधानी तेहरान र लेबनानको राजधानी बेरुतमा सैन्य लक्ष्य तय गरेर नयाँ चरणको व्यापक हवाई आक्रमण सुरू गरेको छ।

साउदी अरबको रक्षा मन्त्रालयका अनुसार रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भएका छन्। उक्त आक्रमणका कारण दूतावास परिसरका केही भागमा आगलागी भएको छ।

यस्तै, इरानको सरकारी सञ्चारमाध्यमले बहराइनमा रहेको अमेरिकी हवाई बेसको कमान्ड तथा स्टाफ भवन ध्वस्त पारेको दाबी गरेको छ।

युद्ध चर्किँदै जाँदा इन्धन आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुजको जलमार्ग हुँदै पार हुन खोज्ने जुनसुकै पानीजहाजमा आगो लगाइदिने चेतावनी एक इरानी अधिकारीले दिएका छन्। यसले विश्व बजारमा इन्धनको आपूर्ति प्रभावित हुनसक्ने त्रास बढाएको छ।

उता अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानमाथि अमेरिकी सेनाको सबैभन्दा कडा प्रहार अझै आउन बाँकी रहेको चेतावनी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारको आक्रमणलाई तेहरानबाट हुने खतरा निर्मूल पार्ने अन्तिम र उत्कृष्ट अवसर भनेको भोलिपल्ट रुबियोको यस्तो भनाइ आएको हो।

युद्ध सुरु भएयता ६ जना अमेरिकी सैनिकले ज्यान गुमाइसकेका छन्।

यसैबीच, हिजो कुवेतमा ‘आफ्नै सेनाको झुक्किएर भएको प्रहार’का कारण तीनवटा अमेरिकी लडाकु विमान खसालिएका छन्। यद्यपि, ती विमानमा सवार चालक दलका सदस्यहरू भने बाँच्न सफल भएका छन्।

यस युद्धबारे प्रतिक्रिया दिँदै बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सांसदहरूसँग आफू ‘आकाशबाट गरिने आक्रमणका भरमा सत्ता परिवर्तन गर्ने कुरामा विश्वास नगर्ने’ स्पष्ट पारेका छन्।

यद्यपि, इरानी मिसाइल केन्द्रहरूमाथि 'रक्षात्मक' प्रहार गर्नका लागि अमेरिकालाई बेलायती सैन्य अखडाहरू प्रयोग गर्न भने उनले अनुमति दिएका छन्।

यस युद्धले सिङ्गो मध्यपूर्वलाई अस्थिर बनाएको छ भने अन्तर्राष्ट्रिय समुदायले परिस्थितिलाई नजिकबाट नियालिरहेका छन्।

फागुन १९, २०८२ मंगलबार १२:५८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।