भरतपुरमा डेरा गरी बस्ने पुरुषको मृत्यु, नागरिकताबाट खुल्यो वास्तविक पहिचान

भरतपुरमा डेरा गरी बस्ने पुरुषको मृत्यु, नागरिकताबाट खुल्यो वास्तविक पहिचान

चितवन : चितवनको भरतपुर महानगरपालिका-२, आँपटारीस्थित इन्द्रेणी टोलमा डेरा गरी बस्दै आएका एक पुरुषको मृत्यु भएको छ।

आफ्नै कोठामा अचेत अवस्थामा भेटिएका उनको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार दिउँसो करिब साढे १ (१३:३०) बजेको समयमा उनी कोठामा अचेत अवस्थामा फेला परेका थिए।

छिमेकीहरूले उनलाई अचेत अवस्थामा देखेपछि तत्काल उद्धार गरी उपचारका लागि सरकारी अस्पताल पुर्याएका थिए। अस्पतालमा उपचारकै क्रममा दिउँसो ३ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

सुरुमा छिमेकीहरूले मृतकलाई अन्दाजी ५०/५५ वर्षका बल बहादुर प्रजा भनेर चिनाएका थिए। तर, प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा उनको वास्तविक पहिचान खुलेको छ।

मृतक मकवानपुरको राक्सिराङ्ग गाउँपालिका-६ का ५६ वर्षीय बर्मा लाल प्रजा रहेको प्रहरीले पुष्टि गरेको छ।

अस्पतालमा खटिएका प्रहरीमार्फत घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक हवल्दार अभिषेक थापाको कमान्डमा घटनास्थलमा टोली खटिएको थियो।

प्रहरीका अनुसार मृतक प्रजा उक्त कोठामा एक्लै बस्दै आएका थिए। हालसम्म उनका आफन्तहरू कोही पनि सम्पर्कमा नआएको र घटनाको थप अनुसन्धान तथा आफन्तको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

फागुन १९, २०८२ मंगलबार १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।