फ्लोरिडाको ‘सिचुएसन रुम’बाट ट्रम्पले यसरी गराएका थिए इरानमाथि आक्रमण
एजेन्सी : अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक हवाई आक्रमणको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको मन्त्रिमण्डलका सदस्यहरू सहभागी बैठकका चारवटा तस्बिर ह्वाइट हाउसले सार्वजनिक गरेको छ।
यी तस्बिर र यसको पृष्ठभूमिमा देखिएका विवरणहरूले आक्रमणको त्यो तनावपूर्ण समयमा कोठाभित्र के भइरहेको थियो भन्ने धेरै कुरा खुलाएका छन्।
सामान्यतया अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसको विशेष सुरक्षित कक्ष ‘सिचुएसन रुम’ बाट सैन्य कारबाहीको निर्देशन दिने गर्छन्।
तर, शनिबार बिहानै इरानमाथि आक्रमण सुरू हुँदा ट्रम्प ह्वाइट हाउसमा थिएनन्। उनी फ्लोरिडास्थित आफ्नो लक्जरी निवास ‘मार-ए-लागो’ मा थिए र त्यहीँबाट घटनाक्रमको निगरानी गरिरहेका थिए।
मार-ए-लागोमा राष्ट्रपतिका लागि सैन्य कारबाहीको अनुगमन गर्नसक्ने पूर्ण सुविधायुक्त ‘सिचुएसन रुम’ रहेको छ। त्यहाँ अति गोप्य सूचनाहरू आदानप्रदान गर्न सन् २०१७ मै ‘स्किफ’ भनिने विशेष कक्ष निर्माण गरिएको थियो।
जहाँ इलेक्ट्रोनिक उपकरणको प्रयोगमा कडा प्रतिबन्ध हुन्छ। सार्वजनिक तस्बिरमा ट्रम्पले सेतो रङको ‘यूएसए’ लेखिएको क्याप लगाएको देखिन्छ। गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति मडुरोलाई पक्राउ गर्ने अपरेसन पनि ट्रम्पले यही कोठाबाट हेरेको बताइएको छ।
तस्बिरले खुलाएका रहस्य र सहभागी अधिकारीहरू
नक्सा र निसाना : तस्बिरको पृष्ठभूमिमा रहेको ठूलो नक्सामा मध्यपूर्वका प्रमुख सैन्य अखडाहरू, दुईवटा अमेरिकी विमानवाहक पोत र अमेरिकी सेना रहेका बेस क्याम्पहरू देखिन्छन्।
इरानको नक्साभित्र देखिएका रातो डाइमण्ड आकारका संकेतहरूले इरानभित्र आक्रमणका निसानाहरू कति व्यापक थिए भन्ने देखाउँछ।

खामेनीको हत्या र सीआईए : तस्बिरको अघिल्लो भागमा सीआईए निर्देशक जोन र्याटक्लिफ राष्ट्रपतिसँग कुरा गरिरहेको देखिन्छन्।
रिपोर्टहरूका अनुसार सीआईएले महिनौंदेखि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निगरानी गरिरहेको थियो र आक्रमण गर्नुअघि उनको सटिक स्थान पत्ता लगाएको थियो, जसका कारण खामेनी मारिए।
मार्को रुबियोको दोहोरो भूमिका : विदेशमन्त्रीका साथै पछिल्लो नौ महिनादेखि कार्यवाहक राष्ट्रिय सुरक्षा सल्लाहकारको समेत जिम्मेवारी सम्हालिरहेका मार्को रुबियो तस्बिरमा देखिन्छन्।
आक्रमणअघि अमेरिकी कंग्रेसको शीर्ष आठ नेतालाई यस अपरेसनबारे जानकारी गराउने जिम्मा उनकै थियो।

एक मात्र महिला सुसी विल्स : तस्बिरमा देखिएकी एकमात्र महिला राष्ट्रपतिका चिफ अफ स्टाफ सुसी विल्स हुन्। उनको राष्ट्रिय सुरक्षामा कुनै औपचारिक भूमिका नभए पनि उनी ट्रम्पको सबैभन्दा नजिककी र प्रभावशाली पात्र हुन्।
उनको हातमा देखिएको घडीलाई लिएर सुरक्षा कक्षमा स्मार्टवाच लगाएको भन्दै प्रश्न उठेको थियो। तर ह्वाइट हाउसले त्यो स्मार्टवाच नभई माइक र जिपिएस नभएको सामान्य ‘हेल्थ ट्र्याकर’ मात्र भएको स्पष्ट पारेको छ।

सेना प्रमुखको अनौपचारिक पहिरन : अर्को तस्बिरमा अमेरिकी सेनाका सर्वोच्च अधिकारी (जोइन्ट चिफ्स अध्यक्ष) जेनरल ड्यान केन कम्प्युटर स्क्रिनमा इरानको दक्षिणतर्फ रहेको अरब सागरमा औँलाले देखाइरहेका छन्।
सामान्यतया राष्ट्रपतिलाई भेट्दा उच्च सैन्य अधिकारीहरू सैनिक बर्दीमा हुन्छन्, तर यहाँ उनी अनौपचारिक (क्याजुअल) पहिरनमा छन्।
केनले ट्रम्पलाई इरानसँगको युद्ध लामो हुनसक्ने भन्दै चेतावनी दिएको अमेरिकी मिडियाले जनाएका थिए, तर ट्रम्पले त्यसलाई ‘फेक न्युज’ भन्दै खण्डन गरेका थिए।
रक्षामन्त्रीको उपस्थिति : तस्बिरको बायाँ कुनामा रक्षामन्त्री पिट हेगसेथ पनि देखिएका छन्। उनले मङ्गलबार कङ्ग्रेसमा इरानको अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम छ।
ह्वाइट हाउसको सिचुएसन रुममा उपराष्ट्रपति
ह्वाइट हाउसले सार्वजनिक गरेको अन्तिम तस्बिर वासिङ्टन डीसीस्थित आधिकारिक ‘सिचुएसन रुम’को हो। त्यहाँ उपराष्ट्रपति जेडी भान्सले भिडियो कन्फरेन्समार्फत ट्रम्पसँगै अपरेसनको निगरानी गरिरहेका थिए।

उक्त कक्षमा उनीसँगै नेशनल इन्टेलिजेन्सकी निर्देशक तुल्सी गबार्ड, अर्थमन्त्री स्कट बेसेन्ट र ऊर्जामन्त्री क्रिस राइट पनि उपस्थित थिए। सन् २०२३ मा ५० मिलियन डलर खर्चेर यो कक्षलाई अत्याधुनिक र उच्च सुरक्षित बनाइएको थियो।
खामेनीको मृत्यु र निरन्तर युद्ध
आइतबार मध्यरातसम्ममा अमेरिका र इजरायली सेनाले इरानभरि १ हजारभन्दा बढी स्थानमा आक्रमण गरेका थिए।
जसमा इरानको कमान्ड कन्ट्रोल, वायु रक्षा प्रणाली, ब्यालेस्टिक मिसाइल केन्द्र र रिभोल्युसनरी गार्ड्सको मुख्यालयलाई निसाना बनाइएको थियो।
आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी र शीर्ष सैन्य तथा जासुसी अधिकारीहरू मारिएका छन्।
यसको जवाफमा इरानले तत्कालै इजरायल, अमेरिकी बेस र पर्सियन खाडीका नागरिक क्षेत्रहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोनको वर्षा गरेको छ।
अमेरिकाले यस अपरेसनको निश्चित समयसीमा तोकेको छैन। तर, मार्च २ मा पेन्टागनले यो ‘अनन्त युद्ध’ नबन्ने भन्दै अमेरिकी नागरिकलाई आश्वस्त पार्ने प्रयास गरेको छ।
यद्यपि, इरानले हार नमानेको र कडा जवाफ दिइरहेको अवस्थामा युद्ध भने जारी नै छ।
फागुन १९, २०८२ मंगलबार ०९:३२:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।