उपत्यकाका ट्राफिक प्रहरी निर्वाचन खटनपटनमा, सडक व्यवस्थापनमा 'निर्वाचन प्रहरी'
काठमाडाैं : निर्वाचनको मिति नजिकिएसँगै काठमाडौँ उपत्यकाका सडकमा नियमित ट्राफिक प्रहरीको सट्टा ‘निर्वाचन प्रहरी’ देखिन थालेका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उपत्यकामा कार्यरत ठूलो संख्यामा ट्राफिक जनशक्ति बाहिरिएपछि उपत्यकाको सवारी व्यवस्थापन सहज बनाउन निर्वाचन प्रहरीलाई सडकमा खटाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले निर्वाचन सुरक्षालाई प्राथमिकता दिँदै उपत्यकामा कार्यरत करिब ८० प्रतिशत ट्राफिक प्रहरीलाई बाहिर खटाइएको बताए।
"हामीसँग भएको जनशक्तिमध्ये ८० प्रतिशत उपत्यका बाहिर पठाइएको छ," सुवेदीले भने, "उपत्यकाको ट्राफिक व्यवस्थापन सहजताका लागि निर्वाचन प्रहरीलाई सडकमा खटाएका हौं।"
विशेषगरी मधेस, गण्डकी र कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सुरक्षा समन्वयका लागि जनशक्ति पठाइएको सुवेदीले बताए। उपत्यकामा बाँकी जनशक्तिबाटै सवारी व्यवस्थापन सहज बनाउन उपलब्ध सवारी साधन अधिकतम प्रयोग गर्ने तयारी गरिएको उनले जानकारी दिए।
निर्वाचनमा सहभागी हुन सर्वसाधारणहरू गृहजिल्ला फर्किन थालेसँगै काठमाडौंमा दैनिक सवारी चाप घट्दै गएको ट्राफिक प्रहरीले जनाएको छ।
फागुन १८, २०८२ सोमबार १६:३५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।