वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा
काठमाडौं : आइसिसी टी-२० विश्वकपको सुपर-८ को अन्तिम खेलमा वेस्ट इन्डिजलाई हराउँदै भारत सेमिफाइनलमा प्रवेश गरेको छ। कोलकाताको इडेन गार्डेनमा भएको खेलमा वेस्ट इन्डिजले दिएको १९६ रनको लक्ष्य भारतले ४ बल बाकी रहँदै ५ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितका सञ्जु सैमसनले महत्त्वपूर्ण योगदान गरे। उनले ५० बलमा ९७ रनको अविजित पारी खेले। १९७ रनको लक्ष्य पछ्याउने क्रममा अभिषेक शर्मा (१०) र ईशान किशन (१०) सस्तैमा आउट भएपछि दबाबमा परेको टोलीलाई सैमसन र कप्तान सूर्यकुमार यादव (१८) को साझेदारीले उकासेको थियो। योसँगै भारत छैटौं पटक विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयो।
यसअघि टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि जेसन होल्डर (३७*) र रोभम्यान पावेल (३४*) ले अन्तिम ओभरहरूमा आक्रामक ब्याटिङ गर्दै ३५ बलमा ७६ रनको साझेदारी गरे।
बलिङतर्फ भारतका जसप्रित बुमराहले २ तथा हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १-१ विकेट लिए। अब फाइनल प्रवेशका लागि भारतले मार्च ५ मा मुम्बईको वानखेडे स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डको सामना गर्नेछ।
फागुन १७, २०८२ आइतबार २३:२८:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।