युएईमा इरानको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु

युएईमा इरानको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु

एजेन्सी : संयुक्त अरब इमिरेट्स (युएई)मा इरानले गरेको पछिल्लो मिसाइल तथा ड्रोन आक्रमणमा परी एक जना नेपाली नागरिकको ज्यान गएको छ।

विगत दुई दिनयता भएको यस आक्रमणमा नेपालीसहित कुल तीन जना विदेशी नागरिकको मृत्यु भएको हो। ज्यान गुमाउने अन्य दुई जनामा पाकिस्तान र बंगलादेशका नागरिक रहेका छन्।

अधिकारीहरूले दिएको जानकारी अनुसार यस घटनामा ५८ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा युएईका स्थानीय नागरिकसहित भारत, पाकिस्तान, फिलिपिन्स, इजिप्ट, इरान, बंगलादेश लगायत विभिन्न १५ देशका नागरिक र प्रवासी कामदारहरू रहेका छन्। उनीहरूलाई सामान्य चोटपटक लागेको बताइएको छ।

शनिबारदेखि इरानले युएईतर्फ लगातार ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल र ड्रोनहरू प्रहार गरिरहेको छ। युएईको रक्षा मन्त्रालयका अनुसार युएईको वायु रक्षा प्रणालीले अधिकांश आक्रमणलाई विफल पारिदिएको छ।

शनिबारयता इरानबाट प्रहार भएका १६५ वटा ब्यालेस्टिक मिसाइल पहिचान गरिएकोमा १५२ वटालाई आकाशमै नष्ट गरिएको थियो भने १३ वटालाई समुद्रमा खसालिएको थियो। त्यस्तै, २ वटा क्रुज मिसाइल पनि नष्ट गरिएको छ।

यसका साथै, ५४१ वटा इरानी ड्रोनहरू पहिचान गरिएकोमा ५०६ वटालाई युएईको सेनाले बीचमै रोकेर नष्ट गरेको छ। तर, करिब ३५ वटा ड्रोन भने युएईको जमिनमा आइपुगेका थिए।

ती ड्रोनहरू र आकाशमा नष्ट गरिएका मिसाइलका टुक्राहरू खस्दा केही नागरिकका घर तथा सम्पत्तिमा सामान्यदेखि मध्यम खालको भौतिक क्षति पुगेको छ।

युएईको रक्षा मन्त्रालयले देशको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको र सेनालाई ‘हाई अलर्ट’मा राखिएको जनाएको छ। सरकारले आफ्ना नागरिक, त्यहाँ कार्यरत विदेशी कामदार र पर्यटकहरूको सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको प्रष्ट पारेको छ।

साथै, मन्त्रालयले आम सर्वसाधारणलाई आधिकारिक समाचार माध्यमबाट आएका जानकारीलाई मात्र विश्वास गर्न र सामाजिक सञ्जालमा जथाभावी हल्ला वा अफवाह नफैलाउन आग्रह गरेको छ।

फागुन १७, २०८२ आइतबार २०:०१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।