विश्वकपबाट बाहिरिएलगत्तै सनथ जयसुलियाद्वारा मुख्य प्रशिक्षकबाट राजीनामा
एजेन्सी : श्रीलंकाका क्रिकेट टोलीका मुख्य प्रशिक्षक सनथ जयसुलियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
पाकिस्तानसँगको रोमाञ्चक खेलमा पराजित हुँदै श्रीलंका विश्वकपबाट बाहिरिएलगत्तै उनले यो निर्णय सार्वजनिक गरेका हुन्।
जयसुलियाले श्रीलंका क्रिकेट बोर्डलाई औपचारिक रूपमा जानकारी नगराए पनि यो विश्वकप नै आफ्नो अन्तिम कार्यकाल हुने गरी उनले दुई महिनाअघि नै मनस्थिति बनाइसकेको बताएका छन्।
'राम्रो नतिजासहित बिदा हुन नपाउँदा दुःखी छु'
जयसुलियाले भने, ‘मलाई लाग्छ अब यो जिम्मेवारी अरू कसैलाई सुम्पिने बेला आएको छ। दुई महिनाअघि नै इंग्ल्यान्ड सिरिजको दौरान मैले लामो समय यो पदमा नरहने निर्णय गरिसकेको थिएँ। म विश्वकपमा राम्रो नतिजा निकालेर बिदा हुन चाहन्थें, तर त्यसो हुन नसकेकोमा म दुःखी छु।’
उनको सम्झौता आगामी जुन महिनासम्म बाँकी छ। यद्यपि, मार्च १३ देखि अफगानिस्तानविरुद्धको सिरिजसम्म बोर्डले उनलाई बस्न आग्रह गर्न सक्ने सम्भावना छ। जयसुलियाले बोर्डले अर्को विकल्प नभेट्दासम्म छलफल गर्न सकिने संकेत गरेका छन्।
सफलता र असफलताको मिश्रित कार्यकाल
सन् २०२४ को टी-२० विश्वकपपछि मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका जयसुलियाको सुरुवाती कार्यकाल निकै सुखद रह्यो। उनको नेतृत्वमा श्रीलंकाले २७ वर्षपछि भारतविरुद्ध ओडीआई सिरिज जितेको थियो।
त्यस्तै, इंग्ल्यान्डको ओभलमा टेस्ट जित्नु र न्युजिल्याण्डलाई २-० ले हराउनु उनको कार्यकालका मुख्य उपलब्धि हुन्। उनले आफ्नो कार्यकालमा ओडीआई र्याङ्किङमा टोलीलाई आठौं/नवौं स्थानबाट चौथो स्थानमा र टेस्टमा छैटौं स्थानमा उकालेको दाबी गरेका छन्।
यद्यपि, पछिल्लो एक वर्ष विशेष गरी टी-२० फरम्याटमा श्रीलंकाको प्रदर्शन खस्किएको थियो। घरेलु मैदानमा भएको टी-२० विश्वकपमा लगातार चार हार बेहोर्नु र एसिया कप २०२५ मा कमजोर प्रदर्शन गर्नु उनको आलोचनाको विषय बनेको थियो।
जयसुलिया यसअघि दुई पटक श्रीलंकाको मुख्य छनोटकर्तासमेत रहिसकेका छन्।
फागुन १७, २०८२ आइतबार १२:५३:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।