सर्वसाधारणका लागि शिखर पावरको आईपीओ खुल्यो

सर्वसाधारणका लागि शिखर पावरको आईपीओ खुल्यो

काठमाडौं : शिखर पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ४२ हजार ६ सय कित्ता सेयर निष्कासनमा ल्याएको हो।

कुल निष्कासन गरिएको सेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोष (म्युचुअल फन्ड) र ४४ हजार ४ सय कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ।

यी दुवै कोटा छुट्याएर बाँकी रहेको १६ लाख ८७ हजार २ सय कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि माग गर्न पाउने व्यवस्था गरिएको छ।

कम्पनीको आईपीओमा छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा चैत १ गतेसम्म बिक्री अवधि लम्बिनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

यसका साथै, सीडीएससीको अनलाइन प्रणाली ‘मेरो सेयर’ मार्फत पनि सहजै आवेदन दिन सकिनेछ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले गत पुस १६ गते कुल ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। 

फागुन १७, २०८२ आइतबार ०९:३९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।