काठमाडौं उपत्यकामा बालेन र रविको 'रोड शो'
काठमाडौं : निर्वाचन आयोगले तोकेको प्रचारप्रसारको अन्तिम समय सीमा नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार राजधानीमा चुनावी र्याली गरेको छ।
‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने नाराका साथ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा र्याली गरेर रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले चुनावी प्रचार गरे।
शनिबार बिहान पशुपतिनाथको दर्शन गरी गौशालाबाट सुरु भएको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरू समेटेको छ। उपत्यकाका सबै निर्वाचन क्षेत्रमा पुग्ने गरी चुनावी र्याली गर्ने तय गरिएको थियो।

र्यालीका क्रममा नेताद्वयले काठमाडौं क्षेत्र नम्बर २, ३, ४ र ९ लगायतका विभिन्न पालिकामा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरे। चुनावी तालिका अनुसार टोली चाबहिल, जोरपाटी, साँखु, मूलपानी र पेप्सीकोला हुँदै भक्तपुर प्रवेश गरेको थियो। भक्तपुरको सानोठिमी, दुवाकोट, व्यासी, कमलविनायक, जगाती र सूर्यविनायकमा पुगेर उनीहरूले उम्मेदवारहरूको पक्षमा भोट मागेका थिए।
शनिबारको दोस्रो चरणको कार्यक्रम सामाखुसी र गोंगबु हुँदै वनस्थली चोकस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर साँझ ६:३० बजे समापन हुने जानकारी दिइएको छ। उपत्यकाको रोड शोलाई रास्वपाले आफ्नो शक्ति प्रदर्शन र जनसम्पर्क विस्तारको लिएको छ।
यसअघि सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र चितवनका विभिन्न जिल्लामा चुनावी कार्यक्रम सम्पन्न गरी रास्वपाको शीर्ष नेता शनिबार राजधानी केन्द्रित भएका हुन्। निर्वाचनको मौन अवधि फागुन १८ गते राति १२ बजेदेखि लागू हुँदैछ।
फागुन १६, २०८२ शनिबार १८:४२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।