इजरायल र इरानमा रहेका नेपालीलाई सतर्क रहन सरकारको आग्रह

इजरायल र इरानमा रहेका नेपालीलाई सतर्क रहन सरकारको आग्रह

काठमाडाैं : नेपाल सरकारले इजरायल र इरानमा भइरहेको तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयले शनिबार सार्वजनिक गरेको एडभाइजरीमार्फत दुवै देशको अवस्था सामान्य नहुँदासम्म अनावश्यक यात्रा नगर्न तथा नियोजित भ्रमणसमेत स्थगित गर्न सुझाव दिएको हो। मन्त्रालयका अनुसार इजरायलमा रहेका नेपालीले स्थानीय सुरक्षा निकायले जारी गरेका सुरक्षा निर्देशिका अनिवार्य रूपमा पालना गर्नुपर्नेछ।

एडभाइजरीमा नेपाली नागरिकलाई सकेसम्म घरभित्रै सुरक्षित रहन, आफू रहेको स्थानको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन, अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सम्बन्धित निकायबाट आधिकारिक सूचना नआएसम्म आवतजावत नगर्न आग्रह गरिएको छ। साथै स्थानीय सञ्चारमाध्यम, सरकारी सूचना तथा आपत्कालीन घोषणामा निरन्तर ध्यान दिन पनि एडभाइजरीमा भनिएको छ।

मन्त्रालयले इजरायल र इरानस्थित नेपालीलाई सम्बन्धित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहन तथा नजिकैको सेल्टर वा सुरक्षित स्थानको जानकारी राख्न निर्देशन दिएको छ। राजदूतावासले परिस्थिति अनुसार सूचना अद्यावधिक गर्दै जाने पनि जनाएको छ।

त्यस्तै, दुवै देशका सम्बन्धित निकायको पूर्वअनुमतिबिना यात्रा नगर्न समेत आग्रह गरिएको छ।

शनिबार बिहानदेखि अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेको तथा त्यसको जवाफस्वरूप इरानले प्रतिआक्रमण गरेपछि इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

विकसित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले नेपाली नागरिकलाई सतर्क रहन र आधिकारिक सूचनामात्रै अनुसरण गर्न पुनः आग्रह गरेको छ।

फागुन १६, २०८२ शनिबार १७:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।