पाँच वर्षभित्र मधेशका विपन्न बस्ती बदल्ने थापाको प्रतिबद्धता
सर्लाही : नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी पाँच वर्षभित्र मधेशका दलित तथा विपन्न बस्तीको अवस्थामा उल्लेखनीय परिवर्तन ल्याइने बताएका छन्।
सर्लाहीको ईश्वरपुरस्थित बयलबास बजारमा आयोजित चुनावी सभामा उनले मधेशको शिक्षा, कृषि र रोजगारीलाई आफ्नो प्राथमिकतामा राखेको बताए। मधेशको शिक्षा क्षेत्र गुणस्तरीयतामा पछाडि परेको उल्लेख गर्दै थापाले भने, "मधेशलाई गुणस्तरीय शिक्षामा अगाडि ल्याइनेछ।"
उनले कृषि क्षेत्रमा बिचौलिया हटाएर पारदर्शी वितरण प्रणाली लागू गर्ने प्रतिबद्धता जनाए। अब किसानले सोझै पसलबाट मलखाद किन्न सक्ने व्यवस्था मिलाइने उनको भनाई छ।
२०६४ सालको राजनीतिक लहरले अपेक्षित उपलब्धि दिन नसकेको उल्लेख गर्दै थापाले अहिले चलेको नयाँ लहरको पछि नलाग्न आग्रह गरे। उनले भने, "हावा हुण्डरीमा एकछिन अडिक हुन।"
कांग्रेसको नेतृत्वमा सरकार बने मुलुकको सुशासनका लागि २०४६ सालपछिका राजनीतिक गतिविधि र व्यक्तिको छानबिन गरिने उनले बताए। त्यस्तो छानबिनको सुरुआत आफू र पार्टी सभापतिबाटै हुने थापाले घोषणा गरे।
आगामी पाँच वर्षमा वार्षिक ५० हजारका दरले युवाहरूलाई रोजगारी दिने लक्ष्य सुनाउँदै थापाले कांग्रेस अब युवामैत्री भइसकेको दाबी गरे। युवा मतदातालाई अपिल गर्दै उनले भने, "युवाको विचारअनुसार बदलिएको कांग्रेसलाई मतदान गर्न म आग्रह गर्छु।"
देशको विकासका लागि सबै राजनीतिक दलबीच सहकार्य र संविधान संशोधन आवश्यक रहेको उनको तर्क थियो। संविधान संशोधनमार्फत संरचनात्मक सुधार नगरी दीगो परिवर्तन सम्भव नहुने उनको भनाइ थियो।
फागुन १६, २०८२ शनिबार १७:१३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।