इजरायल-इरानबीच आक्रमण जारी, खाडी मुलुकले बन्द गरे हवाई क्षेत्र
एजेन्सी : इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि खाडी क्षेत्रका विभिन्न देशहरूले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराका अनुसार इरानमाथि आक्रमण सुरु भएपछि कतार, कुवेत र संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता अपनाउँदै आफ्नो हवाई क्षेत्र बन्द गरेका हुन्।
कतार एअरवेजले सबै उडानहरू अस्थायी रूपमा स्थगित गरेको घोषणा गरेको छ। त्यसैगरी टर्किस एअरवेजले कतार, कुवेत, बहराइन, यूएई, ओमान, लेबनान, सिरिया, इराक, इरान र जोर्डनका लागि निर्धारित उडानहरू रद्द गरेको जनाएको छ।
यस्तै, एयर इन्डियाले मध्यपूर्वका सबै उडानहरू स्थगित गरेको जनाएकाे छ।
शनिबार इजरायलले इरानका विभिन्न सहरहरूमा गरेका हवाई आक्रमणकाे जवाफस्वरूप इरानले पनि प्रतिआक्रमण सुरु गरेको जनाएको छ।
इजरायलले इरानका प्रमुख सामरिक केन्द्रहरूलाई निशाना बनाएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक उत्पादन क्षेत्रहरूमा 'मेजर कम्ब्याट अपरेसन' सुरु गरिएको पुष्टि गरेका छन्।
फागुन १६, २०८२ शनिबार १६:१९:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।