निष्पक्षरूपमा निर्वाचन गराउने प्रतिबद्धता जनाउँदै गृहमन्त्रीले भने- कानुन मिच्नेलाई कारबाही गर्छौं
रौतहट : गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारले निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाएका छन्। शुक्रबार रौतहट सदरमुकाम गौरमा जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिँदै उनले यो सरकार निर्वाचन गराउने लक्ष्यसहित आएको बताए।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा शान्ति सुरक्षाको अवस्था बुझ्न रौतहट आएका उनले सरकारले भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेकाले मतदान प्रक्रियामा सहभागी हुन सबैलाई आग्रह गरे।
अर्यालले निर्वाचनमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्था गरिएकाले फागुन २१ गते मतदान प्रक्रियामा सहभागी भएर सरकारलाई सहयोग गर्न आम मतदातालाई आग्रह गरे। उनले राजनीतिक अधिकार प्रयोग गर्न सहज वातावरण निर्माण गरिने बताउँदै कानुन विपरीत काम गर्नेलाई कुनै छुट नदिने स्पष्ट पारे।
रौतहटका सुरक्षा अधिकारीलाई निर्देशन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले भने, “हामी सहजकर्ताको भूमिकामा छौं। तर गलत गर्ने, कानुन मिच्ने जोकोहीलाई कानुनी दायरामा ल्याउने र आवश्यक कारबाही गर्नेछौं।” निर्वाचन आयोगको आचारसंहिताअनुसार निर्वाचनसम्बन्धी कसुर गरेमा कारबाही हुने स्पष्ट व्यवस्था रहेको उनले जानकारी दिए।
अर्यालले केही समूहले अनावश्यक आशङ्का र अफवाह फैलाउने प्रयास गरे पनि त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरे। उनले भने, “सरकार र आयोगको तयारी स्पष्ट र प्रभावकारी छ, निर्वाचन निर्धारित मितिमा शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ।” देश पूरै निर्वाचनमा होमिइसकेको हुँदा अब निर्वाचन हुँदैन कि भन्नेमा कुनै शङ्का नरहेको अर्यालले प्रष्ट पारे।
फागुन १५, २०८२ शुक्रबार २०:३२:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।