चुनावी रापताप नसेलाउँदै सुटुक्क हल छिर्ने तयारीमा लालिमा

चुनावी रापताप नसेलाउँदै सुटुक्क हल छिर्ने तयारीमा लालिमा

काठमाडौं : मुलुकको माहोल चुनावले तातिएका बेला फिल्मकर्मीहरू भने जोखिम मोलेरै फिल्म प्रदर्शनको तयारीमा जुटेका छन्। नेता र जनता चुनावी जोडघटाउमा व्यस्त रहँदा फिल्म ‘लालिमा’ले आफ्नो प्रदर्शन मिति तोकेको हो।

फागुन २१ गते हुने निर्वाचन सकिएको केही दिनमै अर्थात् फागुन २९ गतेलाई उषा रजक अभिनीत ‘लालिमा’को प्रदर्शन मिति तय गरिएको छ। तर, चुनावी सरगर्मीका बीच प्रदर्शन घोषणा गरिएको यस फिल्मको न त बजारमा कुनै चर्चा छ, न त कुनै प्रचारप्रसार नै।

प्रदर्शन मिति घोषणा गरेर निर्माण पक्षले ठूलो जोखिम उठाएका छन्। शुक्रबारबाट प्रदर्शनमा आएको राजेश हमाल अभिनीत फिल्म ‘प्रवासी जीवन’कै अवस्थामा नपुग्ला भन्न सकिन्न। किनभने यो फिल्मको न हलमा लागेको दर्शकलाई थाहा छ, न कसैलाई वास्ता छ। फिल्म चलेको छ भन्ने कुरा निर्माण पक्षलाई मात्रै थाहा छ। 

सोही अवस्थामा फागुन २९ गतेबाट हलमा लाग्ने फिल्म ‘लालिमा’ पुग्न सक्ने जोखिम देखिन्छ। बिहीबार केही सीमित पत्रकार राखेर निर्माण पक्षले फिल्मबारे कुरा राखेको बुझियो। त्यहाँ २० वर्षदेखि यौनकर्मीसँग प्रत्यक्ष जोडिएर काम गरे पश्चात् फिल्म ‘लालिमा’बनेको निर्माण पक्षले दाबी गरेछन्।

यस फिल्ममा उषा रजकका अलवा रोशनी कार्की, जीवन भट्टराई, सुष्मा निरौला, घनश्याम जोशी,सबिन कट्टेल र शिशिर वाङ्देल मुख्य भूमिका रहेका छन्। बलिया कलाकार हुँदा पनि निर्माण पक्ष सुटुक्क फिल्म हलमा लगाउँदै छन्। यसको फाइदा न कलाकारलाई हुने भयो, न निर्माण टिमलाई। जोखिम मोलेर प्रदर्शनमा आउने बाहेक केही देखिँदैन।

फिल्मका लेखक तथा निर्देशक रोशन मिराज हुन्। फेथ आस्थाको प्रस्तुतिमा निर्माण भएको यस फिल्मको कार्यकारी निर्माता रीना लामा हुन् भने फिल्मलाई नेसनल सिने ग्रुप नेपालले यो फिल्म वितरण गर्दै छ।  

फागुन १५, २०८२ शुक्रबार १८:४५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।