तिर्न बाँकी सार्वजनिक ऋण साढे २८ खर्ब नाघ्यो

तिर्न बाँकी सार्वजनिक ऋण साढे २८ खर्ब नाघ्यो

काठमाडौं : सरकारले चालु आर्थिक वर्षमा (माघ मसान्तसम्म) एक खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ सार्वजनिक ऋण प्राप्त गर्दा कुल ऋण दायित्व साढे २८ खर्ब रुपैयाँ नाघेको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब चार करोड रहेको थियो। माघ मसान्तसम्ममा त्यो बढेर २८ खर्ब ५८ अर्ब ९७ करोड पुगेको छ। जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव ८१ प्रतिशत रहेको कार्यालयले जनाएको छ।

हालसम्म तिर्न बाँकी ऋणमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब ४९ अर्ब १३ करोड र बाह्य ऋण दायित्व १५ खर्ब नौ अर्ब ८४ करोड रहेको छ। कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ८१ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७ दशमलव १९ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षमा सरकारले पाँच खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकामा माघ मसान्तसम्ममा दुई खर्ब ५५ अर्ब ४८ करोड प्राप्ति भएको छ। वार्षिक लक्ष्यको तुलनामा हालसम्मको कुल सार्वजनिक ऋण प्राप्ति ४२ दशमलव ८९ प्रतिशत हो।

यस वर्ष आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकामा ६० दशमलव १३ प्रतिशत अर्थात् दुई खर्ब १७ अर्ब ६६ करोड उठिसकेको छ भने एक खर्ब ४४ अर्ब ३३ करोड प्राप्ति हुन बाँकी छ।

त्यस्तै, बाह्य ऋणतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत अर्थात् ३७ अर्ब ८१ करोड प्राप्त भइसकेको छ भने एक खर्ब ९५ अर्ब ८४ करोड प्राप्त हुन बाँकी रहेको छ।

त्यस्तै, सरकारी ऋणको साँवा ब्याज तिर्नका लागि सरकारले यस वर्ष चार खर्ब ११ अर्ब एक करोड विनियोजन गरेकामा माघ मसान्तसम्ममा दुई खर्ब तीन अर्ब ६५ करोड भुक्तानी भइसकेको छ। यो वार्षिक बजेट विनियोजनको आधारमा ४९ दशमलव ५५ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादनका आधारमा माघ मसान्तसम्ममा कुल ऋण सेवा खर्च तीन दशमलव ३३ प्रतिशत रहेको छ।

फागुन १५, २०८२ शुक्रबार १७:२४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।