क्यान्सरका कारण भारतीय क्रिकेटर रिंकु सिंहका पिताको मृत्यु
एजेन्सी : भारतीय क्रिकेट टोलीका खेलाडी रिंकु सिंहलाई पितृशोक परेको छ। उनका बुवा खानचन्द सिंहको शुक्रबार बिहान मृत्यु भएको हो।
उनी स्टेज-४ क्यान्सरबाट पीडित थिए। ग्रेटर नोएडास्थित यथार्थ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। अस्पतालका जनसम्पर्क अधिकारीले टाइम्स अफ इन्डियालाई यो खबरको पुष्टि गरेका हुन्।
जारी टी-२० विश्वकपमा सुपर-८ अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको पहिलो खेलपछि बुवाको स्वास्थ्य अवस्था गम्भीर बनेपछि रिंकु केही समयका लागि टोली छाडेर घर फर्किएका थिए।
यस्तो कठिन समयमा पनि उनी जिम्बाब्वेविरुद्धको खेलअघि टोलीमा सामेल हुन चेन्नई फर्किएका थिए।
यद्यपि, जिम्बाब्वेविरुद्धको खेलमा उनी ‘प्लेइङ ११’ मा समावेश थिएनन्। टोलीले अभिषेक शर्मासँगै ओपनिङका लागि सञ्जु सामसनलाई मैदानमा उतारेको थियो।
यस दुःखद घटनाप्रति पूर्व भारतीय स्पिनर हरभजन सिंहले सामाजिक सञ्जाल 'एक्स' (पहिले ट्विटर) मार्फत गहिरो समवेदना व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘रिंकु सिंहका बुवा खानचन्द सिंहजीको निधनको खबरले मर्माहत भएको छु। टी-२० विश्वकपमा आफ्नो जिम्मेवारी निभाइरहेका बेला रिंकु र उनको परिवारका लागि यो निकै कठिन समय हो। मेरो प्रार्थना उहाँ र उहाँको परिवारसँग छ। भगवानले मृत आत्मालाई शान्ति र परिवारलाई यो दुःख सहने शक्ति प्रदान गरून्।’
सुपर-८ को अन्तिम खेलका लागि भारतीय टोली अब वेस्ट इन्डिजको सामना गर्न कोलकाता जाँदैछ। तर, यतिबेला रिंकुका लागि भने क्रिकेटभन्दा पनि आफ्नो बुवा गुमाउनुको अपूरणीय पीडाको सामना गर्ने समय बनेको छ।
फागुन १५, २०८२ शुक्रबार ०९:४६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।