पाकिस्तानद्वारा काबुल र कान्दाहारमा आक्रमण : रक्षामन्त्रीद्वारा तालिवानविरुद्ध 'खुला युद्ध'को घोषणा

पाकिस्तानद्वारा काबुल र कान्दाहारमा आक्रमण : रक्षामन्त्रीद्वारा तालिवानविरुद्ध 'खुला युद्ध'को घोषणा

एजेन्सी : पाकिस्तानले अफगानिस्तानका प्रमुख शहरहरू काबुल र कान्दाहारमा आक्रमण गरेको पुष्टि गरेको छ।

सीमा क्षेत्रमा पाकिस्तानी सेनामाथि भएको आक्रमणको बदला स्वरूप यो कदम चालिएको सरकारी अधिकारीहरूले बताएका छन्।

तनाव उत्कर्षमा पुगेसँगै पाकिस्तानका रक्षामन्त्री ख्वाजा एम आसिफले अफगान तालिवान सरकारविरुद्ध 'खुला युद्ध' को घोषणा गरेका छन्।

सामाजिक सञ्जाल ‘एक्स’मा कडा सन्देश लेख्दै पाकिस्तानी रक्षामन्त्री आसिफले कूटनीतिक र मित्रराष्ट्रहरूमार्फत स्थिति सामान्य बनाउन गरिएको प्रयास विफल भएको बताएका छन्।

उनले लेखेका छन्, ‘हाम्रो धैर्यको बाँध फुटेको छ। अब हामी र तपाईंहरूबीच खुला युद्ध सुरू भएको छ।’

त्यसैगरी, पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले आफ्नो सेनाको कारबाहीको प्रशंसा गरेका छन्।

‘हाम्रो शान्तिको चाहनालाई कमजोरी ठान्नेहरूले कडा जवाफको सामना गर्नुपर्नेछ, र कोही पनि हाम्रो पहुँचभन्दा बाहिर हुनेछैन’, एक्समा जर्दारीले लेखेका छन्।

उनले हिंसाका योजनाकार र संरक्षकहरू कहाँ छन् भन्ने आफूहरूलाई पूर्ण जानकारी भएको बताउँदै उनीहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्।

एएफपी समाचार एजेन्सीका अनुसार शुक्रबार बिहानै अफगानिस्तानको राजधानी काबुलमा ठूला विस्फोटका आवाजहरू सुनिएका थिए।

बिहान करिब १:५० बजेतिर लडाकु विमानको आवाजसँगै विस्फोट भएको र २:३० बजेसम्म मध्य काबुलमा गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन्।

आरोप-प्रत्यारोप र पछिल्लो भिडन्त
यो ताजा तनाव अफगान तालिवानले साझा सीमा क्षेत्रमा चलाएको सैन्य अपरेसनपछि सुरु भएको हो।

तालिवानले बिहीबार साँझदेखि ठूलो आकारको अपरेसन चलाएको र आफ्ना आक्रमणमा धेरै पाकिस्तानी सैनिक मारिनुका साथै १५ वटा सैन्य चौकी कब्जा गरेको दाबी गरेको थियो।

तर, पाकिस्तानका प्रधानमन्त्रीका प्रवक्ताले चौकी कब्जा गरिएको दाबीको खण्डन गरेका छन्। पाकिस्तानले तालिवानको बिना उक्साहट भएको आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको र तीन जना घाइते भएको भने पुष्टि गरेको छ।

दुवै पक्षले एकअर्कालाई पहिले आक्रमण गरेको आरोप लगाएका छन्।

तालिवानका मुख्य प्रवक्ता जबिहुल्लाह मुजाहिदले शुक्रबार बिहानै कन्दाहार र हेलमन्डमा रहेका पाकिस्तानी सैन्य अखडामा जवाफी आक्रमण गरेको दाबी गर्दै एक्समा पोस्ट गरेका थिए। तर पछि उनले उक्त पोस्ट डिलिट गरेका छन् र यसबारे तालिवानले थप पुष्टि गरेको छैन।

युद्धविराममा रोक
अक्टोबर २०२५ मा दुई देशबीच भएको भनिएको युद्धविराम सम्झौता पूर्ण रूपमा उल्लङ्घन गर्दै पछिल्ला भिडन्तहरू भइरहेका छन्।

गत हप्ता मात्रै पाकिस्तानले अफगानिस्तानमा गरेको रातारात हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा १८ जनाको मृत्यु भएको तालिवानले जनाएको थियो।

पाकिस्तानले भने आफूमाथि भएको आत्मघाती बम आक्रमणको जवाफमा सीमा नजिकै रहेका चरमपन्थीका ७ वटा शिविरमा मात्र आक्रमण गरिएको दाबी गरेको थियो।

यता काबुलले भने पाकिस्तानी आक्रमणमा सर्वसाधारणको घर र धार्मिक विद्यालयलाई निशाना बनाइएको आरोप लगाउँदै आएको छ।

फागुन १५, २०८२ शुक्रबार ०७:५३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।