विकास गर्न प्रदेश सरकारलाई शक्तिशाली बनाउनुपर्नेमा गगनको जोड
सुर्खेत : नेपाली कांग्रेसका सभापति गगन थापाले कर्णालीको समग्र विकासका लागि संविधान र कानुनमा परिमार्जन आवश्यक रहेको बताएका छन्।
बिहीबार सुर्खेतमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले कर्णालीको भौगोलिक विशिष्टताका कारण यहाँको विकास प्रक्रिया अन्य प्रदेशको तुलनामा फरक र चुनौतीपूर्ण रहेको उल्लेख गरे।
थापाले विकासका योजनाहरू कार्यान्वयन गर्न प्रदेश सरकारलाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिए। विकासलाई चटकको रूपमा लिन नहुने भन्दै उनले भने, "कर्णालीको विकासका लागि थुप्रै सपनाहरू देखाउन सकिन्छ। हामीले जित्यौ भने कायापलट गरिदिन्छौ पनि भन्न सकिएला। तर, विकास भन्ने कुरा चटकका भरमा हुने होइन।"
कर्णालीमा रहेका प्राकृतिक स्रोत र सम्भावनाहरूको उचित सदुपयोगका लागि ठोस योजना हुनुपर्ने उनको तर्क छ। सोही क्रममा उनले भने, "कर्णालीमा यार्सागुम्बा छ, जुम्लाको स्याउ र मार्सी चामल, पर्यटनको धनी र जडीबुटी र जलस्रोत अथाह छ भनेर हुँदैन। यी सबै कुराको सदुपयोग गर्ने सपना, योजना र सोच हुनु पर्दछ।"
मुलुकको समृद्धिका लागि कांग्रेसले आफूलाई परिवर्तन गरेको दाबी गर्दै थापाले आगामी निर्वाचनमा जनताको साथ मागे। उनले भने, "अबको पाँच वर्ष मात्र हामीलाई दिनुस्। हामीले काँग्रेस बदल्यौ, बदलिएको काँग्रेसले मुलुकलाई बदल्ने संकल्प गरेको छ।"
सुशासनको सवालमा थापाले कुनै पनि प्रकारको अनियमिततामा संलग्नलाई नछोड्ने बताए। उनले प्रतिबद्धता जनाउँदै भने, "पाँच वर्षको कार्यकालमा मेरो घरकै परिवारको सदस्य भए पनि कारबाहीको दायरामा ल्याइने छ।"
राजनीतिक दलहरू बीचको गालीगलौजले विकास सम्भव नहुने भन्दै थापाले सबै शक्तिहरूलाई स्पष्ट कार्ययोजनासहित बहस र प्रतिस्पर्धामा आउन चुनौती दिए। अबको निर्वाचनमा गाली होइन, मार्गचित्र र योजनाको प्रतिस्पर्धा हुनुपर्नेमा उनले विशेष जोड दिए।
फागुन १४, २०८२ बिहीबार १८:५८:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।