एमाले राष्ट्रिय राजनीतिको 'मियो' बन्ने विष्णु पौडेलको दाबी
बुटवल : एमाले उपाध्यक्ष विष्णु पौडेलले निर्वाचनपछि आफ्नो पार्टी मुलुक सञ्चालनको नेतृत्वदायी भूमिकामा रहने बताएका छन्। बिहीबार बुटवलमा पत्रकारहरूसँग कुरा गर्दै उनले एमाले राष्ट्रिय राजनीतिको 'मियो' बन्ने दाबी गरे।
पौडेलले लुम्बिनी प्रदेशमा एमाले पहिलो शक्ति बन्ने र केन्द्रमा पनि 'ड्राइभिङ सिट'मा बस्ने विश्वास व्यक्त गरे। मतदाताहरूको 'माइन्ड सेट' एमालेकै पक्षमा रहेको उल्लेख गर्दै उनले बाहिर गरिएका अन्य प्रक्षेपणहरू गलत साबित हुने दाबी गरे।
पौडेलले भने, “रुपन्देही क्षेत्र नम्बर २ मा विभिन्न प्रकारका प्रक्षेपण गरिएका छन्। ती प्रक्षेपणहरू अहिले फेल खाने छन्, यहाँका मतदाताले एमालेलाई नै जिताउनु पर्ने छ भन्ने माइन्ड सेट गरेर बसेका छन्। जनताको त्यो माइन्ड सेटलाई परिवर्तन गर्न निकै कठिन छ।”
उनले एमालेले विगतमा गरेका जनपक्षीय कामकै कारण जनताले पुनः मत दिने जिकिर गरे। उनले रुपन्देहीका पाँच वटै निर्वाचन क्षेत्रमा एमाले बलियो शक्तिका रूपमा रहेको दाबी गरे। पौडेलले आफ्नो पार्टीको विजयलाई विकास र पूर्वाधार निर्माणसँग जोड्दै एमालेको जित अपरिहार्य रहेको पनि बताए। निर्माणाधीन ठूला आयोजनाहरूको व्यवस्थापन र सम्पन्नताका लागि एमालेकै नेतृत्व आवश्यक रहेको उनको तर्क छ।
पौडेलले भने, “एमालेले केबल चुनाव जित्नका लागि मात्र जित्न चाहेको छैन, रुपन्देहीलाई र सिङ्गो लुम्बिनी प्रदेशलाई नै नमुना बनाउनको लागि जित्न चाहेको छ, अहिले निर्माणाधीन बुटवल नारायणगढ र बुटवल गोरुसिङ्गे सडक आयोजनासँगै सिद्ध बाबा सुरुङ मार्ग, सिद्धार्थ राजमार्गको स्तरोन्नति, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाहरूको निर्माण हाम्रा सपना हुन्।”
यस्तै, सिद्धार्थ राजमार्गको स्तरोन्नति पश्चात् लुम्बिनी र गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रहरू एक आपसमा जोडिने र यसले विदेशी पर्यटक आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने पौडेलको भनाइ छ। एमालेले राष्ट्रिय हित र विकासलाई मुख्य एजेन्डा बनाएर चुनावी अभियान अघि बढाएको उनले बताए।
फागुन १४, २०८२ बिहीबार १८:३८:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।