सुनसरीमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
सुनसरी : सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
दुहबी नगरपालिका-५ का ३२ बर्षीय बिजय ऋषिदेव र सप्तरी छिन्नमस्ता गाउँपालिका-६ का ४७ वर्षीय गिरिजानन्द साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
आज बिहान बराहक्षेत्र नगरपालिका-११ गुप्ताटोलस्थित भित्रि सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा गम्भीर घाइते भएका ऋषिदेवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा दुहबी-५ का दिपेन ऋषिदेव घाइते भएका छन्। उनको उपचार भइरहेको प्रनाउ खड्काले बताए।
त्यसैगरी इटहरी उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गमा गएराति कारले ठक्कर दिँदा पैदलयात्री सप्तरीको छिन्नमस्ता गाउँपालिका-६ का ४७ वर्षीय पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ। विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको प्रदेश १-००१-००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्री साहलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्र १-०२-००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिएको थियो। सो ठक्करबाट इटहरी-२० का ४४ वर्षीय टेम्पो चालक वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र इटहरी-१२ का २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन्।
सो घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फागुन १४, २०८२ बिहीबार १३:०१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।