पाकिस्तानी हवाई आक्रमणको सैन्य जवाफ दिने तालिबानको चेतावनी
एजेन्सी : अफगानिस्तानको तालिबान सरकारले हालै पाकिस्तानले गरेको हवाई आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ। बुधबार प्रतिक्रिया दिँदै तालिबानले यस्तो बताएको हो।
तालिबानले पाकिस्तानमाथि निहत्था अफगान नागरिकलाई निशाना बनाएको र आफ्नो देश (पाकिस्तान) मा आईएसआईएस लडाकुहरूलाई सुरक्षित आश्रय दिएको गम्भीर आरोप लगाएको छ।
गत आइतबार राति पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्र नाङ्गरहार र दक्षिण-पूर्वी पक्तिका प्रान्तमा हवाई आक्रमण गरेको थियो।
पाकिस्तानले भने पाकिस्तानभित्र भएका विभिन्न आक्रमणमा संलग्न आतंकवादी समूहलाई लक्षित गरेर उक्त आक्रमण गरेको दाबी गरेको छ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले समाचार च्यानल 'अल अरेबिया इंगलिस' सँग कुरा गर्दै भने, ‘स्वाभाविक रूपमा हाम्रो जवाफ सैन्य कारबाही नै हुनेछ, तर यसका विवरणहरू गोप्य राखिएका छन्। पाकिस्तानले गरेको यो लाजमर्दो कामको लागि उसलाई जवाफदेही बनाउनै पर्छ।’
प्रवक्ता मुजाहिदका अनुसार, नाङ्गरहारमा भएको पाकिस्तानी आक्रमणमा परी एउटै परिवारका १७ जना सदस्यको ज्यान गएको छ भने ५ जना घाइते भएका छन्।
पछिल्लो एक वर्षमा पाकिस्तानी हवाई हमलामा अफगानिस्तानमा ७१ सर्वसाधारणको मृत्यु भइसकेको छ।
फागुन १४, २०८२ बिहीबार ११:०५:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।