‘पाँच पाण्डव’मा आर्यन सिग्देल र महेश त्रिपाठीको इन्ट्री, धुर्मुस सुन्तली हुने सम्भावना कति?

‘पाँच पाण्डव’मा आर्यन सिग्देल र महेश त्रिपाठीको इन्ट्री, धुर्मुस सुन्तली हुने सम्भावना कति?

काठमाडाैं : आगामी दशैँमा प्रदर्शन गर्ने लक्ष्य राखेर निर्माण गर्न लागिएकाे चलचित्र ‘पाँच पाण्डव’ मा कलाकार फेरबदल गरिएकाे छ।

फिल्मको शुभमुहूर्त भएको एक महिना बितिसक्दा पनि मुख्य कलाकारमध्येका एक सीताराम कट्टेल (धुर्मुस) अमेरिकाबाट नफर्किएपछि निर्माण पक्षले नयाँ कलाकार अनुबन्ध गरेको हो।

छोरीको उपचारको सिलसिलामा अमेरिका पुगेका धुर्मुस-सुन्तली नेपाल आउने सम्भावना कम रहेकाले महेश त्रिपाठी र आर्यन सिग्देल अनुबन्ध गरेकाे निर्देशक वसन्त निरौलाले बताए।

उनले भने,‘धुर्मुस सुन्तली नै हाम्रो फिल्ममा हुनुहुन्थ्यो। उहाँहरु छोरीको उपचारका लागि अमेरिका जानु भएकाले आउने सम्भावना निकै कम छ। त्यस कारण अहिले फिल्मका लागि महेश त्रिपाठी,आर्यन सिग्देल,जितु नेपाल,हरिवंश आचार्य र सागर लम्साल (बले) लाई पक्कापक्की गरिसकेका छौँ।’

यस फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, दीपाश्री निरौला, रजनी गुरुङ र सागर लम्साल (बले) यसअघि नै अनुबन्ध भइसकेका छन्। फिल्ममा हालै अभिनेता विनोद न्यौपाने पनि अनुबन्ध भएका छन्। 

काली रानी फिल्म्सको प्रस्तुतिमा निर्माण हुने यस फिल्मलाई रंगपत्रकार सुशील पौडेलले लेखेका हुन्। पौडेल चर्चित फिल्म 'प्रसाद' का लेखक पनि हुन्। 

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको यस फिल्मका निर्माता काली रानी श्रेष्ठ छन्। 

 निर्देशक निरौलाका अनुसार आगामी निर्वाचनपछि फिल्मको छायाङ्कन सुरु हुनेछ।

फागुन १३, २०८२ बुधबार १९:०९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।