झ्यालबाट खसिरहेका शवहरू : लखनऊ बस दुर्घटनापछिको भयावह दृश्य

झ्यालबाट खसिरहेका शवहरू : लखनऊ बस दुर्घटनापछिको भयावह दृश्य

एजेन्सी : भारतको लखनऊस्थित पूर्वाञ्चल एक्सप्रेसवे टोल प्लाजानजिक बस दुर्घटना भएकाे छ। साे बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन्। घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ। 

हिन्दुस्तान टाइम्सका अनुसार अत्यधिक यात्रु बोकेको दुईतले (डबल डेकर) निजी बस अनियन्त्रित भई पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु​​​​​ भएको हो। 

हरियाणाकाे नम्बर प्लेट भएको उक्त बस पञ्जाबको लुधियानाबाट बिहारको दरभंगातर्फ जाँदै थियो। बसमा करिब ८५ जना यात्रु सवार थिए। दिउँसो करिब ३ बजेतिर बस अनियन्त्रण भई दुर्घटना भएकाे प्रहरीका डेपुटी कमीसनर निपुन अग्रवालले बताएका छन्। 

दुर्घटना लगत्तै प्रहरीले उद्धार गरेको थियो। साे बस दुर्घटनाकाे उद्धारका क्रममा खिचिएका संवेदनशील दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। ती सार्वजनिक भएका भिडियोमा दुर्घटनामा परेकाे बसकाे उद्धारका क्रममा क्रेनले बस उठाउने क्रममा झ्यालबाट शव झुन्डिएको तथा खसिरहेको देखिन्छ।

सामाजिक सञ्जालमा यी भिडियो आएसँगै याे दुर्घटनाले फेरी चर्चा पाएकाे छ।  

प्रारम्भिक अनुसन्धानअनुसार बस ८० किलोमिटर प्रतिघण्टाभन्दा बढी गतिमा रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनापछि फरार रहेकाे चालक साेमपाललाई प्रहरीले नियन्त्रणमा लिई मुद्दा दर्ता गरेको जनाइएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फागुन १३, २०८२ बुधबार १५:३२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।