१३ वर्षमुनिका प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको भन्दै रेडिटलाई १४ मिलियन पाउन्ड जरिवाना

१३ वर्षमुनिका प्रयोगकर्ताको डाटा दुरुपयोग गरेको भन्दै रेडिटलाई १४ मिलियन पाउन्ड जरिवाना

एजेन्सी : बालबालिकाको व्यक्तिगत जानकारीको अवैध प्रयोग गरेको अभियोगमा बेलायतको डाटा नियामक निकाय ‘इन्फर्मेसन कमिश्नर अफिस’ले चर्चित सामाजिक सञ्जाल रेडिटलाई १४.४७ मिलियन पाउन्ड (२ अर्ब ७४ करोड नेपाली रुपैयाँ) जरिवाना गरेको छ।

रेडिटले प्रयोगकर्ताहरूको उमेर सही रूपमा जाँच गर्न नसकेको र यसका कारण बालबालिकाहरू अनुपयुक्त तथा हानिकारक अनलाइन सामग्रीको जोखिममा परेको आईसीओले जनाएको छ।

बेलायतका सूचना आयुक्त जोन एडवर्ड्सले भने, ‘रेडिटजस्तो ठूलो कम्पनीले बेलायती बालबालिकाको व्यक्तिगत जानकारी सुरक्षित राख्ने कानुनी दायित्व पूरा गर्न नसक्नु चिन्ताको विषय हो।’

यता रेडिटले भने प्रयोगकर्ताहरूको गोपनीयता र सुरक्षाप्रति आफू प्रतिबद्ध रहेको बताउँदै उमेर वा पहिचान खुलाउन बाध्य नपारेको स्पष्टिकरण दिएको छ। कम्पनीले यो निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ।

के हो समस्या?
आईसीओका अनुसार रेडिटले सन् २०१८ मे ५ देखि २०२५ जुलाई ८ सम्म १३ वर्षमुनिका बालबालिकाको व्यक्तिगत जानकारी अवैध रूपमा प्रयोग गरेको थियो।

अनलाइन सेवा सञ्चालन गर्ने कम्पनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्ने र उनीहरूको डाटा संकलन गर्दा जोखिममा नपार्ने जिम्मेवारी लिनुपर्ने नियामक निकायको भनाइ छ।

‘यसका लागि कम्पनीहरूले आफ्ना प्रयोगकर्ताको वास्तविक उमेर थाहा पाउनुपर्छ र प्रभावकारी उमेर प्रमाणीकरण उपायहरू अपनाउनुपर्छ,’ एडवर्ड्सले थपे, ‘तर रेडिटले यी कुनै पनि प्रक्रिया पूरा गर्न असफल भयो।’

रेडिटले सन् २०२५ जुलाई ८ देखि ‘अनलाइन सेफ्टी एक्ट’को पालना गर्न उमेर प्रमाणीकरण सुरू गरेको थियो। तर आईसीओले खाता खोल्दा प्रयोगकर्तालाई उमेर सोध्ने रेडिटको तरिका ‘सजिलै छल्न सकिने’ खालको भएको बताएको छ।

रेडिटको नियमअनुसार १३ वर्षमुनिका बालबालिकालाई साइट प्रयोग गर्न अनुमति छैन, तर आईसीओको अनुमानमा ठूलो संख्यामा १३ वर्षमुनिका बालबालिका प्लेटफर्ममा सक्रिय थिए।

नियामक निकायको कडा कदम
आईसीओले गत मार्चमा टिकटक र तस्बिर सेयर गर्ने साइट इम्गुरसँगै रेडिटमाथि पनि अनुसन्धान सुरू गरेको थियो। बेलायती कानुनअनुसार बालबालिकाको डाटा संकलन गर्दा कम्पनीहरूले विशेष सावधानी अपनाउनुपर्छ।

रेडिटका प्रवक्ताले भने आईसीओको माग प्रयोगकर्ताको गोपनीयता र सुरक्षाको विरुद्ध रहेको बताएका छन्।

उनले भने, ‘आईसीओले हामीलाई हरेक बेलायती प्रयोगकर्ताको थप निजी जानकारी संकलन गर्न दबाब दिइरहेको छ, जुन हाम्रो विश्वासविपरीत छ।’

हालका वर्षहरूमा बेलायतमा रेडिटको लोकप्रियता ह्वात्तै बढेको छ। सन् २०२५ मा यो बेलायतको चौथो सबैभन्दा धेरै हेरिने सामाजिक सञ्जाल बनेको थियो।

सामाजिक सञ्जाल विज्ञ म्याट नाभाराका अनुसार यो जरिवानाले रेडिटलाई अब सामान्य फोरम साइट नभई ठूलो जिम्मेवारी बोकेको सामाजिक प्लेटफर्मका रूपमा हेर्न थालिएको संकेत गरेको छ।

फागुन १३, २०८२ बुधबार १३:५६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।