दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ।
मंगलबार न्यायाधीश द्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गर्दै बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको हो।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिइएको थियो।
सोही रिटमा सुनुवाइ गर्दै अदालतले थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चका सूचना अधिकारी एवं उपरजिस्ट्रार निराजन पाण्डेले जानकारी दिए। फागुन २१ गते हुन लागेको निर्वाचन नहुने भन्दै हिँडेको र निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गरेको भन्दै निर्वाचन आयोगले फागुन ३ गते प्रहरीलाई अनुसन्धान गरी कारबाही गर्न पत्राचार गरेको थियो।
सोही पत्रका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो। रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै सोमबार न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले प्रहरीलाई पठाएको पत्र र निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन आदेश दिएको थियो।
उक्त फाइलको अध्ययन र मंगलबारको सुनुवाइपछि सर्वोच्चले थुनामुक्त गर्ने अन्तिम आदेश दियो। सर्वोच्चको आदेशबमोजिम प्रसाईं छुट्ने प्रक्रियामा छन्।
फागुन १२, २०८२ मंगलबार १९:१०:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।