रास्वपाको सरकार बने सय दिनभित्र सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने रविको आश्वासन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरूलाई विज्ञप्ति निकाल्नुको सट्टा रातारात विकास निर्माणमा जुट्न सुझाव दिएका छन्।
मंगलबार इटहरीमा आयोजित पार्टीको चुनावी सभामा उनले रास्वपाको विकास नीतिसँग व्यवसायीहरू आत्तिएको प्रतिक्रिया दिए। उनले कानुनको परिधिभित्र रहेर काममा लगाइने कुरालाई स्पष्ट पारे।
लामिछानेले भने, "बोल्नेभन्दा काम गर्ने दिन आउँदैछ। रास्वपाले आफ्नो कुरा गर्दै गर्दा कतिपय मानिसहरू आत्तिएको देखिन्छ। म निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु- विज्ञप्ति निकाल्न पदैन। ठूलाठूला इक्युप्मेन्टहरु कसरी खरिद् गर्ने, रातारात कसरी विकास निर्माण गर्ने भन्नेतिर लाग्नुहोस्। कानुनले बाँधेर काम लगाउने भनेको हो, मानिसलाई डोरीले बाँध्ने भनेको होइन।"
उनले २० वर्षसम्म सांसद र मन्त्री भएकाहरूलाई विकासका लागि कानुन बाधक रहेको भन्ने ज्ञान बल्ल आएकोमा प्रश्न उठाए। अब देश विकासको गतिलाई कसैले रोक्न नसक्ने उनको दाबी छ।
लामिछानेले भने, "२० वर्ष सांसद र मन्त्री भएपछि बाटो बनाउन १२-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान बल्ल आयो? सबै निर्माण व्यवसायीलाई भन्न चाहन्छु- सकेसम्म २-३ सिफ्टमा, रातारात काम गर्न सकिन्छ। तपाईंसँग भएका उपकरणहरू पर्याप्त छैनन् होला, तर विज्ञप्ति निकाल्नु पर्दैन। के-के उपकरण र कसरी ल्याउनुपर्ने हो, त्यतातिर तयारी गर्नुहोस्। अब देश विकास निर्माणमा जान्छ, कसैले रोक्न सक्दैनौं।"
शिक्षकहरू दलीय राजनीतिमा संगठित भएको विषयमा पनि उनले चर्चा गरे। शिक्षकहरूले पेसागत संगठनको चिन्ता छाडेर विद्यार्थीको भविष्य र स्मार्ट कक्षाकोठा निर्माणमा ध्यान दिनुपर्ने उनको सुझाव छ।
उनले भने, "शिक्षकहरू पनि संगठित भएको सुनियो, पेसागत संगठन संकटमा पर्यो। पेसागत संगठन खारेज गर्न पाइदैन भन्ने कुरा सुनियो। तपाईंहरू स्मार्ट कक्षाकोठा कसरी बनाउने त्यसको योजना बनाउनुहोस्। राजनीतिको ठेक्का हामीलाई दिनुहोस्, हामी गरौला। तपाईंको सुरक्षा रास्वपाको नेताले गर्दैन, रास्वपाको नीतिले गर्छ। विद्यार्थीको भविष्य तपाईं बनाउनुहोस्।"
सभापति लामिछानेले वि.सं. २०४६ सालपछिका सबै भ्रष्टाचार काण्डको छानबिन हुने अठोट व्यक्त गरे। यो कदम प्रतिशोधका लागि नभई हिसाब मिलानका लागि हुने उनको धारणा छ। रास्वपाको सरकार बनेको १०० दिनभित्र लघुवित्त र सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरिने उनले आश्वासन दिए।
"०४६ सालपछिका सबै काण्डको छानबिन हुन्छ। प्रतिशोध हुँदैन हिसाब हुन्छ," उनले भनेका छन्, "जति पनि लघुवित्त सहकारी लगायतका समाधान निकाल्न नसकेर समस्याग्रस्त बनाएर राख्नेहरूलाई भन्छु। रवि लामिछानेलाई थुन्ने काम बाहेक कुनै मानिसले एक रुपैयाँ फिर्ता पायो? आरोप मलाई लगाऊ, तर अब रास्वपाको सरकारले १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्न सुरु गर्छ। तयार भएर बस्नुहोला।"
फागुन १२, २०८२ मंगलबार १८:५०:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।