रेखा र पूजाबीच ‘३६ को आँकडा’को हिसाबकिताब, फिल्ममा कस्तो पर्ला असर ?
काठमाडौं : फिल्म प्रदर्शन हुनुअघि विभिन्न फण्डा वा चर्चा सिर्जना गरिनु अब सामान्य बनिसक्यो। फण्डा वा चर्चाप्रति आम नागरिकको चासो रहने बुझेरै कलाकारले फिल्म प्रचारमा यस्तो शैली प्रयोग गरिरहे। त्यसमध्ये फिल्मको प्रचारप्रसारका लागि विभिन्न शैली अपनाउन सिपालु मानिन्छन् अभिनेत्री पूजा शर्मा।
उनी प्रचार शैलीकै कारण चर्चामा रहने गर्छन्। यसअघि फिल्मको व्यापार बढाउन उनले हलमै रोएकोदेखि अभिनेतासँगको प्रेमको चर्चासम्मका रणनीति अपनाएको आरोप लाग्ने गर्छ। फिल्ममा जोडिएदेखि अब उनले यस पटक के प्रयोग गर्छिन् भनेर चासोको विषय बन्छ। पछिल्लो समय अभिनेत्री रेखा थापासँग उनको राम्रो सम्बन्ध देखिन्छ। यति बेला पूजाले यही सम्बन्धलाई प्रचारमा प्रयोग गर्दै त छैनन् ?
केही दिनअघि पूजाले सामाजिक सञ्जाल फेसबुकमा लेखिन्, रेखा अब तिमीसँग मेरो ‘३६ को आँकडा’ नै हुन्छ, बाइ। यो पोस्टले रेखा थापासँगको उनको चित्त दुखाइ रहेको त होइन ? चर्चा र चासोको विषय बन्यो। चैत २७ गते प्रदर्शन मिति तय गरेको ‘३६ को आँकडा’लाई लक्षित गरेर लेखिएको पूजाको यस पोस्टले प्रशंसकहरूमाझ उनीहरूबीच मनमुटाब भएको आशंका पैदा गर्यो। तर, केही समयमै उक्त पोस्ट हटाइयो।
पूजाको स्टाटसको जवाफमा रेखा थापाले पनि प्रतिक्रिया दिइन्। उनले ‘३६ को आँकडा’भए आफूलाई केही फरक नपर्ने र 'एउटा माघले जाडो जाँदैन, अर्को पनि आउँछ है' भनेर स्टाटस लेखिन्। उनले भनेकी छन्, "पूजा तिमीसँग पनि मेरो ‘३६ को आँकडा’ बराबर हो। तिमीले ३६ को आँकडा गरे भन्दैमा केही फरक पर्दैन ल ? यो कुरा चैत २७ पछि नै बिचार गरौँला। एउटा माघले जाडो जाँदैन, अर्को वर्ष पनि आउँछ। कुरा बुझ ल? अनि अनि,दश मिनेट पनि ‘३६ को आँकडा’ भन्दै पोस्ट गरेको उडाइछौं त बैनी?"
यी दुई अभिनेत्रीबिचको यो भनाभनले सामाजिक सञ्जालमा चर्चा त पायो, तर यो विवाद वास्तविक नभई चलचित्रको प्रचारका लागि गरिएको एउटा ‘स्टन्ट’ मात्र भएको देखिन्छ। हालै रेखा थापाको छोरीको जन्मदिनमा पूजा शर्मा उपस्थित भएर शुभकामना दिएकी थिइन्। सोही अवसरको एक तस्बिर साझा गर्दै रेखाले ‘मिल्नुपर्छ बीचबीचमा’ भनेर लेखेपछि उनीहरूबीचको विवाद केवल प्रचारका लागि मात्रै भएको देखाउँछ।
चलचित्र ‘३६ को आँकडा’प्रति दर्शकको ध्यान तान्न अपनाइएको यो शैलीले हलसम्म दर्शक ल्याउन कत्तिको सहयोग पुर्याउँछ, त्यो भने चैत २७ गतेको प्रदर्शनपछि नै थाहा हुनेछ।
फागुन १२, २०८२ मंगलबार १७:३५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।