‘कार्की साइँला’को शुभमुहूर्त गर्दा वर्षा, दश महिनापछि छायांकनमा मुन्नी
काठमाडौं : ‘कार्की साइँला’को शुभमुर्हूत भएको १० महिनापछि बल्ल छायांकन थालिएको छ।
गत वैशाख ८ गते सोमबार कोटेश्वरस्थित महादेवस्थानमा फिल्मको शुभमुर्हूत गर्दै २० गतेबाट सुटिङमा जाने कुरा थियो। तर निर्माण पक्ष र फिल्मका अभिनेता जितु नेपालबीचको खटपटले फिल्मको छायांकन हुन सकेको थिए। अन्ततः उनीहरुबीचको दश महिना मनमुटाब टुङ्गिएपछि अन्ततः धनकुटाबाट फिल्मको सुटिङ थालिएको छ।
शुभमुहूर्त गर्दा वर्षा सिवाकोटी थिइन्। अहिले उनको ठाउँमा प्रियना आचार्य (मुन्नी) अनुबन्ध भएकी छन्। वर्षा अर्को फिल्म ‘कस्तुरी’मा व्यस्त भएकाले प्रियनालाई लिएको निर्देशक बस्नेतले उकेरालाई केही दिनअघि बताएका थिए।
धनकुटा जिल्लाको आसपास र सुनसरीको वराहक्षेत्र, चतहरामा फिल्मको छायांकन हुनेछ। कुनै समय सोही स्थानमा भारी बोक्ने एक मानिसको कथामा फिल्म निर्माण हुन लागेको हो। जसको भूमिका जितु नेपालले गर्दैछन्।
ग्रामीण भेगका बस्ने भुईँ मान्छेको कथामा आधारित यस फिल्ममा जितु नेपाल, प्रियना आचार्य (मुन्नी), सुशील पोखरेल, वीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ,रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई,कमल देवकोटा लगायतका कलाकारले अभिनय गर्दैछन्। एक महिनाको सेड्युलमा छायांकन थालिएको निर्माण पक्षले जानकारी दिएको छ।
फिल्ममा अभिनेता जितु नेपालको जोडीको रूपमा प्रियना हुने छिन्। पछिल्लो समय ‘झरीपछिको इन्द्रेणी’मा अभिनय गरेकी अभिनेत्री आचार्य हास्यटेलिश्रृंखला ‘सक्किगोनी’बाट चर्चामा थिइन्। फिल्ममा प्रियना र जितुको पहिलो सहकार्य हो।
कर्णबहादुर फिल्मसको ब्यानरमा निर्माण थालिएको यस फिल्ममा लगानी बालकुमार राईले गरेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुति रहने फिल्मलाई डम्बर राईले खिचिरहेका छन्। किरण दाहालको द्वन्द्व निर्देशन, संगीत दिप्सन लिम्बु, प्रोडक्सन सिबी भण्डारीको रहेको छ। मुख्य सहायक निर्देशक रोजल थापाले गर्दैछन्। फिल्म 'कार्की साइँला'को प्रदर्शन मिति भने तत्काल नतोकिने निर्देशन बस्नेतको भनाई छ।
फागुन १२, २०८२ मंगलबार १५:३२:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।