एनआइसी एशिया बैंकका ग्राहकलाई दिल्लीस्थित एपोलो अस्पतालमा १० प्रतिशतसम्म छुट
काठमाडौं : एनआइसी एशिया बैंक र भारतको नयाँ दिल्लीस्थित इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन (एपोलो अस्पताल) बीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ।
समझदारी भएपछि जारी प्रेस विज्ञप्ति अनुसार, यो सुविधा प्राप्त गर्न बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ। सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालको इन-पेसेन्ट रुम चार्ज, प्रिभेन्टिभ हेल्थ चेकअप प्याकेज र अटेन्डेन्ट हेल्थ चेकअप सेवामा १० प्रतिशत छुट पाउनेछन्।
त्यसैगरी, आउट-पेसेन्ट जाँचमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। छुटका अतिरिक्त ग्राहकहरूले निःशुल्क दर्ता, अन्तर्राष्ट्रिय बिरामी लाउन्जमा पहुँच र काठमाडौंस्थित एपोलो इन्फर्मेसन सेन्टरमार्फत अपोइन्टमेन्ट लिँदा दिल्ली विमानस्थलदेखि होटल वा अस्पतालसम्मको यातायात सुविधासमेत प्राप्त गर्नेछन्।
समझदारी पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावल र एपोलो अस्पतालका तर्फबाट प्रबन्धक विपिन शर्माले हस्ताक्षर गरेका छन्। यस सहकार्यले आफ्ना ग्राहकहरूलाई विदेशमा उपचार गराउँदा सहुलियत पुग्ने विश्वास बैंकले लिएको छ।
फागुन १२, २०८२ मंगलबार १४:४९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।