काठमाडौंको एउटा समुदायमा ८४ प्रतिशतलाई गम्भीर डिप्रेसनको लक्षण
मानव जीवनमा शारीरिक स्वास्थ्य जति महत्त्वपूर्ण छ, मानसिक स्वास्थ्य पनि त्यति नै अपरिहार्य छ। तर, विडम्बना! जनचेतनाको अभावका कारण आज पनि नेपाली समाजमा मानसिक समस्या भएका व्यक्तिहरूलाई हेयको दृष्टिले हेर्ने प्रवृत्ति कायमै छ।
‘मलाई मानसिक समस्या भयो’ वा ‘म डिप्रेसन वा एन्जाइटीबाट गुज्रिरहेको छु’ भनेर सहजै खुल्न सक्ने वातावरण अझै पनि हाम्रो समाजमा बनिसकेको छैन। समाजको लाञ्छना र डरका कारण मानिसहरू आफ्नो समस्या लुकाएर राख्न बाध्य छन्।
समयमै रोगको पहिचान नहुँदा र उपचार नपाउँदा सामान्य समस्याले पनि गम्भीर रूप लिने र व्यक्ति आजीवन मानसिक रोगले ग्रसित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ। यो हाम्रो समाजको अत्यन्तै तीतो यथार्थ हो। यसर्थ, नेपालमा मानसिक स्वास्थ्यका विषयमा थप र प्रभावकारी जनचेतना जगाउनु नितान्त आवश्यक भइसकेको छ।
८४ प्रतिशत व्यक्तिलाई चिन्ताको प्रभाव
नेपालका दूरदराजका गाउँहरूमा मात्र होइन, देशकै संघीय राजधानी र सबैभन्दा सुगम मानिने काठमाडौं शहरमै पनि मानसिक स्वास्थ्यको अवस्था निकै दयनीय छ।
हालसालै काठमाडौंको एउटा समुदायमा मानसिक स्वास्थ्यसम्बन्धी एउटा सानो सर्वेक्षण गरिएको थियो। ५० जना वयस्क व्यक्तिहरूमा गरिएको उक्त अध्ययनको मुख्य उद्देश्य उनीहरूमा रहेको चिन्ता (एन्जाइटी) जन्य लक्षणको अवस्था र गम्भीरता पत्ता लगाउनु थियो।
अध्ययनको नतिजा निकै चिन्ताजनक र झस्काउने खालको आयो। सर्वेक्षणमा सहभागी ५० जनामध्ये ४० प्रतिशत व्यक्तिमा त गम्भीर किसिमकै चिन्ताजन्य लक्षण देखियो।
त्यसैगरी, २४ प्रतिशत व्यक्तिमा मध्यम किसिमको र २० प्रतिशत व्यक्तिमा सामान्य किसिमको चिन्ताजन्य समस्या रहेको पाइयो। जम्मा १६ प्रतिशत व्यक्तिमा मात्रै कुनै पनि किसिमको चिन्ताजन्य समस्या देखिएन।
समग्रमा हेर्दा, एउटै समुदायका ८४ प्रतिशतभन्दा बढी वयस्क व्यक्तिहरू कुनै न कुनै स्तरको मानसिक चिन्ताबाट प्रभावित भएको यो अध्ययनले देखाएको छ। यसले के स्पष्ट पार्छ भने, शहरी क्षेत्रका वयस्कहरूमा चिन्ताको चपेटा दिनानुदिन बढ्दै गइरहेको छ।
समस्याको जड र जोखिम
विशेषगरी काठमाडौंलगायतका ठूला शहरहरूमा मानिसहरूको जीवनशैली निकै व्यस्त र धपेडीपूर्ण छ। बढ्दो महँगी, बेरोजगारी, प्रतिस्पर्धात्मक जीवनशैली र दैनिक जीवनका तनावहरूले गर्दा व्यक्तिको मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर परिरहेको छ।
कुनै ठोस कारण नै बिना अप्रासंगिक रूपमा चिन्ता बढ्दा व्यक्तिको दैनिक कामकारबाही र पारिवारिक जीवनमा प्रत्यक्ष असर पर्छ। यदि मानसिक स्वास्थ्य समस्याको समयमै पहिचान र उपचार गरिएन भने यसले भयानक रूप लिन सक्छ।
गम्भीर मानसिक समस्या भएका व्यक्तिहरूले आत्महत्या गर्ने, हत्या वा अन्य आपराधिक हिंसात्मक गतिविधिमा संलग्न हुने जोखिम उच्च रहन्छ। त्यसैले, यस्ता लक्षणहरू देखिनेबित्तिकै सचेत हुन जरुरी छ।
उपचार सम्भव छ, खुल्न सिकौँ
मानसिक समस्या कुनै निको नहुने श्राप होइन। जसरी हामीलाई रुघाखोकी लाग्दा, उच्च रक्तचाप हुँदा वा मधुमेह (सुगर) बढ्दा चिकित्सकको सल्लाह लिएर औषधिमुलो गर्छौं, मानसिक समस्याको पनि त्यसैगरी उपचार सम्भव छ।
समयमै समस्याको पहिचान भएको खण्डमा मनोविमर्श (काउन्सिलिङ) र आवश्यकताअनुसारको औषधि सेवनबाट मनको चिन्ता हटाउन सकिन्छ। मनमा अस्वभाविक डर, चिन्ता वा निराशा उत्पन्न भएमा समयमै मनोविज्ञ (साइकोलोजिस्ट) वा मनोचिकित्सक (साइकियाट्रिस्ट) सँग परामर्श लिन पटक्कै ढिला गर्नु हुँदैन।
‘उपचार गरे मानसिक रोग पूर्ण रूपमा निको हुन्छ’ भन्ने सन्देश समाजको तल्लो तहसम्म पुर्याउनु आजको प्रमुख आवश्यकता हो। यसका साथै, जीवनशैलीलाई सहज र तनावमुक्त बनाएर रोग लाग्नै नदिने (रोकथाम) तर्फ पनि ध्यान दिनु उत्तिकै जरुरी छ।
मानसिक स्वास्थ्य मानव अधिकारको पनि विषय
अन्त्यमा, मानसिक स्वास्थ्य केवल स्वास्थ्यसँग मात्र सम्बन्धित विषय होइन, यो आधारभूत मानव अधिकारको विषय पनि हो। स्वस्थ दिमाग बिना स्वस्थ शरीर र सुखी जीवनको कल्पना गर्न सकिँदैन।
त्यसैले, राज्यले मानसिक स्वास्थ्यलाई आधारभूत प्राथमिक स्वास्थ्य सेवाको अभिन्न अंगका रूपमा समावेश गर्नुपर्छ। अब प्रत्येक स्थानीय तहले आफ्नो वडा र समुदायस्तरमा मनोपरामर्शदाता वा मनोचिकित्सकको व्यवस्था गर्नुपर्छ।
गाउँ-टोलमै जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी मानसिक समस्या भएका व्यक्तिहरूलाई बिना कुनै हिचकिचाहट रोगको पहिचान र उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने अनुकूल वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको टड्कारो आवश्यकता हो।
(सुवेदी मनोविज्ञ र मनोविज्ञानसँग सम्बन्धित अनुसन्धाता हुन्।)
फागुन १२, २०८२ मंगलबार १२:०२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।