साम्बाको घुँडाको शल्यक्रियाका लागि कांग्रेसले दियो ५ लाख, एन्फाको खातामा रकम जम्मा

साम्बाको घुँडाको शल्यक्रियाका लागि कांग्रेसले दियो ५ लाख, एन्फाको खातामा रकम जम्मा

काठमाडौं  : नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा चर्चित स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनले फागुन १२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै साम्बाको उपचारार्थ उक्त रकम उपलब्ध गराइएको जानकारी दिएको हो।

साम्बाको घुँडाको एसिएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसिएलमा गम्भीर चोट लागेको छ। सोही चोटका कारण उनी हाल जटिल शल्यक्रियाको तयारीमा छिन्।

देशका लागि खेल्दा घाइते भएकी उनको उपचारमा सहयोग पुर्याउनु सबैको कर्तव्य भएको कांग्रेसले जनाएको छ।

सहयोग रकम हस्तान्तरणको प्रक्रियाबारे प्रष्ट पार्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा रू. ५,००,०००।– (पाँच लाख रुपैयाँ) जम्मा गरिएको छ।’

फागुन १२, २०८२ मंगलबार ११:२९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।